• ४ चैत २०८२, बुधबार

बागलुङमा इजाजत प्राप्त हतियार बुझाउन अटेरी

blog

जिल्ला प्रहरी कार्यालय बागलुङ । तस्बिरः अर्जुन कार्की

अर्जुन कार्की 
काठेखोला (बागलुङ), फागुन १२ गते ।
बागलुङमा इजाजत प्राप्त हतियार बुझाउन हतियार धनिहरुले अटेरी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित जिल्ला प्रशासनको आग्रहपछि बागलुङमा ५९ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङले माघ १० गते एक सार्वजनिक सूचना जारी गर्दै माघ २० गतेसम्म हतियार बुझाउन आग्रह गरेको थियो । तर हतियार बुझाउने मिति सकिएको १८ दिन वित्तिसक्दा समेत सोमबारसम्म ५९ जनाले मात्र हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

बागलुङमा दर्तावाला मात्रै एक सय ४२ वटा हितयार रहेको जिल्ला प्रशासन कार्यालय बागलुङका नायब सुब्बा रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो । प्रशासनले निर्वाचनलाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत पत्र प्राप्त हतियारहरु नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरेको थियो । तर आफुसँग भएको हतियार प्रहरी प्रशासनमा बुझान हतियारधनीले तत्परता देखाएका छैनन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक भारतीले जिल्लामा दर्ता भएका हतियार बाहिर जिल्लामा समेत हुक्ने बताउँदै अन्य जिल्लासँग समन्वय गरेर ल्याइने बताउनुभयो । उहाँले इजाजत प्राप्त हतियार को–को सँग छन्भन्ने प्रशासनमा डाटा रहेकाले हतियार तुरुन्त प्रशासन र प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, पोष्ट लगायतमा छिटोभन्दा छिटो बुझाउन आग्रह गर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध हातहतियार बरामद तथा सङ्कलन गर्नको लागि अप्रेसन टोली समेत खटाएको छ ।

प्रतिनिधि सभाको निर्वाचनमा अवैध हातहतियारको दुरुपायोग भइ निर्वाचन तथा सार्वजनिक शान्ति सुरक्षामा खतरा उत्पन्न हुने सक्ने तथ्यलाई मूल्याङ्कन गर्दै इजाजत पत्र नलिइ लुकाइछिपाइ राखिएका हातहातियार बरामद तथा सङ्कलन गर्नका लागि प्रहरीले अप्रेसन टोली खटाइ स्थानीयको सहयोगमा जङ्गल, रुखको टोड्का, खोल्सा, मानिस नबस्ने घरगोठमा लुकाइ राखेका एक सय २४ थान भरुवा बन्दुक बरामद गरिसकेको छ ।

हतियार बरामद गर्दा प्रहरीले एकजना पनि अभियुक्त भने पक्राउ गरेको छैन । सर्च अपरेशन अभियान थालेपछि सबै हतियार जङ्गल छेउछाउ, खोँचहरुमा भेटाएकाले थप खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।