• १२ फागुन २०८२, मङ्गलबार

पूर्वमन्त्री र सांसदसँग चुनावी मैदानमा नयाँ उम्मेदवार

blog

खलङ्गा समाचारदाता 

खलङ्गा (दार्चुला), फागुन १२ गते । दार्चुलाबाट यसअघि नेपाल सरकारका मन्त्री तथा प्रतिनिधि सभा र संविधान सभा सदस्य भएकासँग नयाँ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाल सरकारका मन्त्री तथा प्रतिनिधि सभा र संविधान सभा सदस्य भएका पुराना उम्मेदवारलाई चुनौती दिँदै चुनावी मैदानमा छन् । 

दार्चुलाबाट २०७४ सालको निर्वाचन जितेर सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह ठगुन्ना र २०६४ सालको संविधान सभा निर्वाचन जितेर सांसद हुनुभएको थियो । नेपाली कम्युनिस्ट पार्टीका (नेकपा) उम्मेदवार लक्ष्मणदत्त जोशीलाई नेपाली कांग्रेसका युवा उम्मेदवार धर्मानन्द जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्त चुनावी मैदानमा हुनुहुन्छ । 

एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका लागि ११ दलका उम्मेदवारले उम्मेदवारी दिए पनि कांग्रेस, एमाले, नेकपा र रास्वपाकाबिचमा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यी चारै दलका उम्मेदवारले आफ्नो पार्टीले यस पटकको निर्वाचन जित्ने दाबी गर्दै चुनावी प्रचारप्रसारको अभियानलाई घर घरसम्मै लगेका छन् । दलका नेता कार्यकर्ता तथा उम्मेदवार अहिले यहाँका विकट बस्तीमा पुगेर मत मागिरहनुभएको छ । 

यहाँ खास गरी प्रमुख राजनीतिक दल एमाले र कांग्रेस नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन्, भने नेकपा, रास्वपा, राप्रपा, नेकपा (माओवादी) लगायतका दल पनि नतिजा उल्ट्याउने रणनीतिमा छन् । यहाँका साना दल नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा लागेको भए पनि अन्तिममा भने दुई ठुला दल एमाले र कांग्रेसबिचमा मात्रै कडा प्रतिस्पर्धा हुने देखिएको स्थानीय मतदाता बताउँछन् । दार्चुलाका लागि एमालेका उम्मेदवार पूर्वमन्त्री गणेशसिंह ठगुन्ना चितपरिचित अनुहार हुनुहुन्छ, उहाँले २०७० को दोस्रो संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचन जित्नुभएको थियो । २०७९ सालको निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू बिजयी हुनुभएको थियो । यसपटक कांग्रेसले नयाँ उम्मेदवारका रूपमा युवा नेता धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ । 

लामो समय दार्चुलाको राजनीतिमा प्रभाव दिनुभएका दिलेन्द्रप्रसाद बडू चुनावी दौडबाट बाहिरिएपछि कांग्रेसले जोशीलाई उम्मेदवार बनाएको हो । शैल्यशिखर नगरपालिका–८, पपरथला स्थानीय जोशी कानुनी पृष्ठभूमिका बौद्धिक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । 

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा दार्चुलाबाट माओवादीलाई जित दिलाउनुभएका लक्ष्मणदत्त जोशी यस पटक नेकपाबाट उम्मेदवार बन्नुभएको छ । २०७९ को स्थानीय तह निर्वाचनमा अपि हिमाल, मार्मा, लेकम र नौगाड गाउँपालिकामा पार्टीले पाएको नतिजा र जिल्लाभरि सङ्गठन रहेको आधारमा उहाँलाई उम्मेदवार बनाएर नेकपा प्रचारप्रसारमा छ । 

यस्तै रास्वपाका उम्मेदवार राजेशसिंह सामन्त पूर्वशिक्षक हुनुहुन्छ । उहाँ लामो समय कांग्रेस निकट शिक्षक सङ्घको राजनीतिमा आबद्ध भएर काम गर्नुभएको थियो । उम्मेदवार सामन्त अहिले रास्वपाबाट खुला राजनीतिमा होमिनुभएको छ । उम्मेदवार सामन्तले देशभर रास्वपाको लहर चलेको भन्दै आफूले चुनाव जित्ने दाबी गरिरहनुभएको छ । 

दल र दलका उम्मेदवारले गाउँ गाउँमा गएर पार्टीले विगतमा गरेका विकास निर्माणका काम र भावि योजनाको बारेमा प्रचारप्रसार गर्दै भोट मागिरहनुभएको छ । दार्चुलामा जम्मा ९२ हजार ९४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो ।