• १२ फागुन २०८२, मङ्गलबार

उम्मेदवारले खोलेनन् नयाँ खाता

blog

भवानीदत्त भट्ट

बेलौरी (कञ्चनपुर), फागुन १२ गते  । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेका २२ उम्मेदवारले नयाँ बैङ्क खाता सञ्चालनमा ल्याएका छैनन् । फागुन ३ गतेसम्म बैङ्क खाता सञ्चालन गरेर प्रचारप्रसार गर्न निर्वाचन आयोगले आग्रह गरे पनि ५५ उम्मेदवारमध्ये यहाँका २२ उम्मेदवारले नयाँ खाता सञ्चालन नै नगरेको पाइएको हो । 

फागुन ४ गते पहिला नै नयाँ खाता खोली निर्वाचनमा गरिने सम्पूर्ण खर्चलाई पारदर्शी तुल्याउन जिल्ला निर्वाचन कार्यालयले सबै उम्मेदवारलाई अनिवार्य खाता खोल्न आग्रह गरेको थियो । खाता सञ्चालन गरेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयमा दिनुपर्ने व्यवस्था छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका प्रमुख कोष नियन्त्रक कृष्णबहादुर धामीले तीन वटै निर्वाचन क्षेत्रका गरेर ३३ उम्मेदवारले मात्रै नयाँ खाता सञ्चालन गरेको बताउनुभयो । धामीका अनुसार, निर्वाचन क्षेत्र नम्बर १ मा पुराना उम्मेदवारसहित साना दलका उम्मेदवारहरूले नयाँ खाता सञ्चालन गरेका छैनन् ।  क्षेत्र नम्बर १ का १९ उम्मेदवारमध्ये आठ जनाले खाता सञ्चालन गरेका छैनन् भने, ११ उम्मेदवारले खाता सञ्चालनमा ल्याएका हुन् । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारालामा तामाङ, नेपाली कांग्रेसका गोपीप्रसाद उपाध्याय, उज्यालो नेपाल पार्टीका माइकल तामाङ र राप्रपाका दिल्लीबहादुर शाहीले खाता खोल्नु्भएको छ । राष्ट्रिय जनमोर्चाका राजाराम डगौरा चौधरी, मितेरी पार्टीका सियाराम राना, राप्रपाका जनक सिंह धामी, प्रलोपाका देपेन्द्रबहादुर शाही, संयुक्त नागरिक पार्टीका दानियल विक, नेकपा (माओवादी) का पुरन राना थारू र स्वतन्त्र उम्मेदवार अनिल राना छन् ।  निर्वाचन क्षेत्र–२ मा  सात उम्मेदवारले खाता सञ्चालन गरेका छैनन् भने १२ उम्मेदवारले मात्रै नयाँ खाता सञ्चालन गरी सोमार्फत चुनावी प्रचार खर्च थालेका हुन् ।  प्रमुख कोष नियन्त्रक धामीका अनुसार, क्षेत्र–२ मा नेपाली कांग्रेसका नारायणप्रकाश साउद, नेकपा (एमाले) का बचनबहादुर सिंह, रास्वपाका दीपकराज बोहोरा, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्की, राप्रपाका तीर्थराज चटौतले खाता सञ्चालन गर्नुभएको छ । प्रगतिशील नेपाल पार्टीका धर्मानन्द जोशी, संयुक्त नागरिक पार्टीका खड्क ताम्राकार, मितेरी पार्टीका तेजबहादुर बडवाल, उज्यालो नेपालका योगेन्द्र साउँद, नाउपाका प्रेमवती राना, आमजनता पार्टीका जग्गु चौधरी र स्वतन्त्र उम्मेदवार भानुभक्त बोहराले खाता सञ्चालन गर्नुभएको छ । कोष नियन्त्रक धामीका अनुसार, क्षेत्र–३ मा १७ उम्मेदवारमध्ये एक उम्मेदवारले खाता सञ्चालन गर्नुभएको छैन, भने १६ उम्मेदवारले नयाँ खाता सञ्चालनमा ल्याएका छन् । 

खाता सञ्चालनमा ल्याउने उम्मेदवारमध्ये नेकपा (संयुक्त) पार्टीका कर्णबहादुर चन्द, नेपाली कांग्रेसका हरिप्रसाद बोहरा, नेकपा (एमाले) का डा. दीपकप्रकाश भट्ट, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखक, उज्यालो नेपालका भीमबहादुर कुमाल, आम जनता पार्टीका लक्ष्मीकुमारी विष्ट भट्ट, राष्ट्रिय जनमोर्चाका लालबहादुर कुँवर हुनुहुन्छ । यसै गरी नेकपा (माओवादी) का विष्णुप्रकाश उपाध्याय, स्वतन्त्र उम्मेदवार वीरसिंह क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीका मानबहादुर सुनार, रास्वपाका ज्ञानेन्द्रसिंह महता, राप्रपाका पूर्णबहादुर चन्द, स्वतन्त्र हर्कबहादुर ऐर, श्रम संस्कृति पार्टीका गंगादत्त जोशी, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का लोकराज भटट र मितेरी पार्टी नेपालका किरन थापाले खाता सञ्चालन गर्नुभएको छ ।  

पटक पटक फोन सम्पर्क र उम्मेदवारलाई नयाँ खाता सञ्चालनका लागि आग्रह गरे पनि चुनाव प्रचार अवधिभन्दाअगाडि ३३ उम्मेदवारले खाता सञ्चालनमा ल्याएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिसचन्द्र जोशीले बताउनुभयो । खाता सञ्चालन नगर्ने उम्मेदवारको हकमा निर्वाचन आयोगलले छिट्टै थप निर्णय गर्ने उहाँले बताउनुभयो । अझै पनि खाता सञ्चालन गरेर निर्वाचन खर्चलाई पारदर्शी तुल्याउन उहाँले सबैलाई आग्रह गर्नुभयो । खाता सञ्चालनमा नल्याउने उम्मेदवारमध्ये क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टीका बिना मगर, नेपाल मजदुर किसान पार्टीका कटकबहादुर शाही, मङ्गोल नेसनल अर्गनाइजेसनका हुमबहादुर गुरुङ, आम जनताका सीता विक, नाउपाका कृष्णबहादुर चौधरी, स्वतन्त्र उम्मेदवारहरू यादव सिंह, मन्जुदेवी सुनार र रुपादेवी विष्ट रहेका छन् ।