• १२ फागुन २०८२, मङ्गलबार

गुल्मी–१ : मुख्य दल नै जित हात पार्ने दाउमा

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), फागुन १२ गते । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन गुल्मी–१ मा रोचक र प्रतिस्पर्धा देखिएको छ ।  राष्ट्रियस्तरमै चर्चा भएका उम्मेदवार र पार्टीमा समेत पकड जमाएका उम्मेदवार यस क्षेत्रमा भएकाले यहाँको प्रतिस्पर्धा रोचक बनेको हो ।  

गुल्मी क्षेत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, नेपाली कांगेसका नेता चन्द्रकान्त भण्डारी, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालबिच प्रतिस्पर्धा भएकाले यहाँको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । चार वटै उम्मेदवारले आफूले जित्ने दाबी गर्दै आउनुभएको छ ।   

एमालेका जिल्ला इन्चार्ज जङ्ग नेपालीले गुल्मी–१ मा सङ्गठन गाउँस्तरसम्मै सक्रिय हुनुका साथै उम्मेदवार पनि तल्लो तहसम्मै भिजेको र जनताको भावना अनुरूप विकास गर्ने नेता भएकाले जितको आधार भएको दाबी गर्नुभएको छ । यसका साथै अघिल्लो निर्वाचनमा तत्कालीन माओवादीसहितको गठबन्धनबाट झिनो मतान्तरले भण्डारीले जित हासिल गरेको उदाहरण प्रस्तुत गर्दै अहिले एक्ला एक्लै निर्वाचनमा प्रतिस्पर्धा भएकाले ज्ञवालीले जित्नेमा ढुक्क भएको उहाँले दाबी गर्नुभयो ।  

नेपाली कांगेसका जिल्ला सचिव जगदीश भट्टराईले चन्द्र भण्डारी राष्ट्रिय व्यक्तित्व, इमानदार, विकासप्रेमी नेता भएकाले निर्वाचन आफ्नो पक्षमा पार्न सफल हुने दाबी गर्नुभयो । पछिल्लो समयमा गगन थापाको नेतृत्वमा कांग्रेस रूपान्तरण भएर आएकाले पनि निर्वाचन आफ्नो पक्षमा पार्न थप टेवा पुग्ने उहाँको पनि दाबी छ ।   

नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सुदर्शन बरालले आफूले प्रदेश सरकारमा सामाजिक विकासमन्त्री हुँदा र नहुँदा पनि निरन्तर विकासको पक्षमा रहेकाले आफूले मत पाउनेमा ढुक्क रहेको बताउनुभयो । गुल्मी–१ को माटोलाई आफूले राम्रोसँग बुझेको र जनताको मनमा पनि बस्न सफल भएकाले अहिलेको आवश्यकता नै बराल भएको उहाँको दाबी छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकालले भने तिनै नेताले भन्दा आफूले धेरै विकास गर्न सक्ने भएकाले अहिले मतदाताले आफूलाई मतदान गर्ने दाबी गर्नुभयो । उहाँले अहिलेको आवश्यकता र युवाको माग अनुसारको आफू उम्मेदवार भएकाले गुल्मी–१ का जनताले मत दिने बताउनुभयो । 

गत निर्वाचनमा नेपाली कांगेसका नेता चन्द्र भण्डारीले तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनबाट ३३ हजार ७४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १५२ मत ल्याउनुभएको थियो । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार जिल्लामा कुल दुई लाख २९ हजार ५४९ जना मतदाता रहेका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर–१ मा एक लाख २२ हजार १८६ जना र निर्वाचन क्षेत्र नम्बर–२ मा एक लाख सात हजार ३६३ जना मतदाता रहेका छन् । जिल्लाभर १४५ वटा मतदान स्थल र २८४ वटा स्थायी मतदान केन्द्र तोकिएको छ भने दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् ।