गोकुल भुजेल
भोजपुर, फागुन १२ गते । यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्न जिलाका मतदातामा छुट्टै उत्साह देखिन्छ भने मत परिणाम आफ्नो पक्षमा पार्न उम्मेदवारले विभिन्न रणनीति अपनाएका छन् । उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाता रिझाउन गाउँ–गाउँ, टोल–टोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रम गर्दै मतदाता फकाउन व्यस्त छन् । विगत तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेका अरुण गाउँपालिका ३ का गजेन्द्र बहादुर भुजेल मतदान गर्न स्वदेश फर्किनुभएको छ । यो निर्वाचनले देशमै रोजगारी, स्वास्थ्य, शिक्षा, भ्रष्टाचार न्यूनीकरण तथा सुशासन प्रवर्धन हुने विश्वास उहाँको छ ।
जिल्लाबाट विगतमा कांग्रेस, एमाले, माओवादी लगायत पुराना दलका उम्मेदवार मात्र प्रतिस्पर्धामा देखिन्थ्यो तर यसपालि श्रम सस्कृती पार्टी, रास्वापा लगायत अन्य दलका उम्मेदवार पनि ठूलै प्रतिस्पर्धामा देखिन्छन् । कुल एक लाख २५ हजार सात सय ६६ जना मतदाता रहेको यस जिल्लामा प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्रका लागि १२ दलको १२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
बालकृष्ण थापा नेपाली कांग्रेस, शेरधन राई नेकपा एमाले, अजम्वर राई नेपाली कम्युनिस्ट पार्टी (नेकपा), धुर्व राई श्रम संस्कृति पार्टी, जितेन्द्र राई राष्ट्रिय परिवर्तन पार्टी, राजाराम बासी नेपाल मजदुर किसान पार्टी, जनक नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी, रमेशप्रसाद ओझा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), चन्द्रप्रसाद राई मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी, गोपालकुमार राई जनता समाजवादी पार्टी, युवराज थापा आमजनता पार्टी र देवानराज राई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सहित १२ दलका १२ जनाको उम्मेदवारी परेको छ ।
एमालेको पकेट क्षेत्र मानिने यस जिल्लामा २०७४ र २०७९ मा गठबन्धन गरेर माओवादी केन्द्रका सुदन किरातीले चुनाव जित्नुभएको थियो । तर यस पटक भने एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा रहेका दलको आफ्नो मत कति भनेर मुल्याकंन गर्ने अवसर पनि देखिएको छ ।
चुनावमा हेभिवेटका रुपमा शेरधन राईलाई लिइन्छ । कोशी प्रदेशको पूर्व मुख्यमन्त्री, पूर्व मन्त्री र पार्टीको केन्द्रीय सचिव भइसकेको साथै विगतमा काम गरेको अनुभव उहाँमा छ । सडक, पूर्वाधार विकास लगायत क्षेत्रमा विगतमा थालिएका काम पुरा गर्नु नै उहाँको मुख्य चुनावी एजेन्डा हो । उहाँले भन्नुभयो, “हामी अहिले घरदैलो कार्यक्रममा व्यस्त छौँ, जनताको सकारात्मक प्रतिक्रिया पाएका छौँ । चुहारको पुल लगायत अन्य पुल, सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, क्षेत्रका मागहरू सँगै रोजगार सृजना गर्ने प्रतिबद्धता रहेको छ ।”
कांग्रेसका पुराना नेता बालकृष्ण थापा चुनाव जितेर इतिहास रच्ने दाउमा हुनुहुन्छ । सुधारिएको काँग्रेसको साझा उम्मेरद्वारको रुपमा भएकाले उहाँको जित्ने सम्भावना प्रबल देखिन्छ । उहाँले अहिले पार्टीका कार्यकर्ता भेट्ने, जनता तथा मतदातासँग तल्लो स्तरसम्म पुगेर छलफल, अन्तरक्रिया गर्ने र जनताका समस्या बुझ्ने गरेको पाइन्छ ।
एमालेका पुर्व नेता, टेम्केमैयुङ गाउँपालिकाका पूर्व अध्यक्ष धुर्व राईले श्रम सस्कृती पार्टीबाट उम्मेदवारी दिनुभएको छ । पछिल्लो निर्वाचनमा लौरो चुनाव चिन्हबाट उम्मेदवार बन्नुभएका पर्यटन व्यवसायी रमेश ओझाले रास्वपाबाट उम्मेदवार बन्नु भएको छ । उहाँ लगायत नयाँ दलहरूको एजेन्डा सुशासन, भ्रष्टाचार नियन्त्रण आदि रहेका छन् । युवा पुस्ता तथा वैदेशिक रोजगारीमा भएका युवाहरूको समर्थन नयाँ दललाई देखिन्छ ।
यता, तारा चुनाव चिन्हका अजम्मर काङमाङलाई अवशरवादि नेताको आरोप लाग्ने गरेको छ । एमाले, सङ्घीय समाजवादी हुदै माओवादीमा आउनुभएको उहाँको चुनावी दौडधुप पनि तीव्र रहेको छ । स्थानीय जनतासँग भेट्ने चुनावी एजेन्डा सुनाउने र मत माग्ने कार्य सबै नेता तथा पार्टीको जारी रहेको छ ।
पछिल्लो चुनावी सरगर्मी हेर्दा भोजपुरमा पुरानाविरुद्ध नयाँ, एकीकृत वाम विरुद्ध विभाजित वाम र परम्परागत आधारविरुद्ध वैकल्पिक शक्ति बिचमा प्रतिस्पर्धा भएको काँग्रेसका पुराना नेता नन्दमणी राई बताउनुहुन्छ ।
त्यस्तै, प्रतिनिधि सभा निर्वाचनमा स्थानीय तहको नेतृत्वले समेत प्रभाव पार्ने देखिन्छ । स्थानीय तहका जनप्रतिनिधिहरू आफ्नो दलको उम्मेदवारलाई जिताउन घरदैलो गर्दै योजना, कार्यक्रम सङ्कलन गर्ने साथै भोट माग्ने गरेको पाइन्छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ४ वटामा एमाले, ३ वटामा कांग्रेस र २ वटा पालिकामा माओवादीले नेतृत्व गरेको छ । यदि स्थानीय तहका जनप्रतिनिधिहरूको प्रभाव कायमै रहेमा नयाँ दललाई भने सहानुभूति मत मात्र आउने सम्भावना देखिन्छ ।