• १२ फागुन २०८२, मङ्गलबार

आज चीर ठड्याइने

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन १२ गते । गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याई बाँसको तीनतले चीर ठड्याइएसँगै मङ्गलबारदेखि एक सातासम्म होलीपर्व सुरु हुन्छ । यसपालि तीनछत्रे होलीको चीरको साइत बिहान ७ बजेर १३ मिनेटको रहेको छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पु‍¥याई दाह गरेपछि होलीपर्व समाप्त हुन्छ । फागुन १८ गते सोमबार राति ५ बजे १९ मिनेटमा चीर दहन गरेपछि होली समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु प्रारम्भ हुन्छ । 

सांस्कृतिक अभियन्ता राजन महर्जनले परम्परा अनुसार रङ्गीचङ्गी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि हर्षबढाइँका साथ अबिर छर्की चीरलाई पूजा गरी होली खेल्न प्रारम्भ गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “करिब ३० फिट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरबाट ठड्याइन्छ । वसन्त उत्सवका रूपमा समेत मनाइने रङ्गहरूको पर्व होलीको पौराणिक तथा सांस्कृतिक महत्व रहेको उहाँको भनाइ छ । 

शुभसाइतमा हनुमानढोकापरिसर, हनुमानढोकाभित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रङ्गीचङ्गी कपडाका टुक्रा झुन्ड्याइएको चीर गाडिने गरिन्छ । महर्जनले मोहनकाली चोकमा काठबाट निर्मित हातमा मुरली लिएको मुद्रामा श्रीकृष्णको मूर्ति र त्यसको दायाँबायाँ गरी नौ वटी अर्धनग्न अवस्थामा रहेकी गोपिनीका मूर्ति लहरै राखी पूजा गरी अबिर छर्किइने बताउनुभयो । 

वसन्त ऋतुको आगमनसँगै मनाइने भएकाले यस पर्वलाई वसन्तोत्सव वा मदनोत्सवका रूपमा लिइन्छ । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

धार्मिक ग्रन्थका अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए तर आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भस्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

यसै गरी भक्तपुरमा दत्तात्रय मन्दिरसँगै रहेको भैरव मन्दिरमा रहेको लिङ्गको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिने छ । फागुन शुक्ल अष्टमीको दिन मङ्गलबार भीमसेन मन्दिरमा राखिएको लिङ्गलाई टोल टोलमा घुमाएर पुनः मन्दिरको पाटीमा राखिन्छ । नेवारी परम्परा अनुसार यसलाई चीर स्वायगू भनिन्छ । होलीपर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रह्लादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको छ । संस्कृतविद् तथा भक्तपुरका स्थानीय गणेशराम लाछीले जानकारी दिनुभयो । उहाँले होलीपर्व सुरु भएपछि फागुन नवमीको दिनमा भीमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिरवरिपरि रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिने जानकारी दिनुभयो ।