गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १२ गते । साङ्गीतिक क्षेत्रमा विरासत बोकेको परिवार नेपालमा कमै पाइन्छ । तीमध्ये एक हो, जोशी परिवार । रामलाल जोशी, द्वारिकालाल जोशी/नगिना जोशी, लसता जोशी, भिन्तुना जोशी र शरद् जोशी हुँदै चौथो पुस्ता लुमिला जोशीले पनि यस क्षेत्रमा पाइला सारिसक्नुभएको छ ।
जोशी परिवारले गत शनिबार स्वर्गीय द्वारिकालाल र उहाँकी पत्नी नगिनाले गाउनुभएको ‘यौवनया गाचो’ को पुनः सिर्जना गरी सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । करिब पाँच दशकअघि स्वर्गीय गायक द्वारिकालाल जोशीले आफ्नी श्रीमती नगिना जोशीका लागि बनाएको नेपाल भाषाको गीत ‘यौवनया गाचो’ निकै लोकप्रिय भएको थियो ।
द्वारिकालालकी छोरी लसता र छोरा शरद्ले सोही गीतलाई केही परिमार्जन गरी गाउनुभएको छ । शरद्ले गीतको ‘रिएरेन्ज’ पनि गर्नुभएको छ । म्युजिक भिडियोमा नातिनी लुमिला जोशी र निर्वाण महर्जनको अभिनय रहेको हुन्छ । यसै गरी द्वारिकालालकी अर्की छोरी भिन्तुनाले सो गीतको कोरियाग्राफ गर्नुभएको छ । सङ्गीत प्रोडक्सन्समा रिलिज भएको यस म्युजिक भिडियोको निर्देशन विश्वास वज्राचार्यले गर्नुभएको छ ।
गायिका लसताले बुवाको २९ औँ पुण्यतिथिमा साङ्गीतिक श्रद्धाञ्जली दिने सोचाइ अनुरूप यो गीत ‘रिक्रिएट गरी म्युजिक भिडियो तयार पारेको बताउनुभयो । आमाबुवाले स्टेजमा यो गीत धेरै गाउनुभएको छ तर यसको रेकर्डिङ छैन, लसताले भन्नुभयो ।
नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले यस कार्यक्रममा तीन पुस्ता संलग्न भएर यौवनया गाचोको रिमेक गीतको म्युजिक भिडियो हेर्न पाएकोमा जोशी परिवारलाई धन्यवाद दिनुभयो । सो अवसरमा चलचित्र निर्देशक, निर्माता तथा लेखक प्रकाश सायमिले द्वारिकालाल जोशी र नगिना जोशीको गीत पुस्तान्तरण भएको बताउनुभयो । उहाँले नेपाली सङ्गीत क्षेत्रमा जोशी परिवार सबभन्दा गर्वशाली परिवार हो । ‘तस्बिर त्यो दिलमा राखी र नेपालीको छातीमा’ भन्ने गीत गाउने रामलाल जोशीको परिवारको चौथो पुस्ता पनि साङ्गीतिक क्षेत्रमा सक्रिय भइरहनु गर्वको कुरा हो, उहाँले भन्नुभयो । नेपाली र नेपाल भाषामा थुप्रै गीत रचना गर्नुभएका द्वारिकालालले पनि माइतीघर तिम्रो होइन, रेसम फिरिरी, बाधा परून् जति नै जस्ता कालजयी गीत गाउनुभएको छ ।