रामकृष्ण बोहरा
बागलुङ, फागुन ११ गते । जिल्लाका तीन नगरपालिकाका किशोरीलाई पाठेघरको मुखको क्यासर विरुद्वको (एचपिभि) खोप लगाउन सुरु गरिएको छ । बागलुङ, जैमिनी र ढोरपाटन नगरपालिकाका किशोरीलाई एचपिभी खोप लगाउन सुरु गरिएको हो ।
यसअघि गलकोट नगरपालिकाका किशोरीलाई एचपिभी खोप लगाइसकिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो । यो वर्ष जिल्लाका २ हजार ३ सय २ जना किशोरीलाई एचपिभी खोप लगाउने योजना छ ।
तोकिएको उमेर समूहका कोही नछुटाउने गरी जनस्वास्थ्य कार्यालयले खोपका लागि विद्यालय र घरघरसम्म पुग्ने टोली समेत गठन गरेको छ । आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई असर नपर्ने गरी फागुनभित्र जिल्लाका १० वर्ष उमेर पुगेका तथा कक्षा ६ मा पढ्ने किशोरीलाई एचपिभी खोप लगाउन टोली गठन गरिएको हो ।
एचपिभी खोप अभियानसँगै नियमित खोप सेवा र छुटेका बालबालिकालाई खोपमा जोडिने प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो । जिल्ला खोप समन्वय समितिको बैठकले खोप लगाउन सबै स्वास्थ्यकर्मीलाई खटाएको छ ।
खोपका लागि हरेक पालिकामा समय तालिका बनाइएको छ । बागलुङ, ढोरपाटन र जैमिनी नगरपालिकामा फागुन १० देखि १५ गतेसम्म खोप लगाइने छ । गलकोट नगरपालिकाका किशोरीलाई फागुन १ देखि ५ गतेसम्म खोप लगाइसकिएको छ । अन्य ६ गाउँपालिकामा पनि तोकिएको समयमै खोप लगाइने छ । ‘‘स्वास्थ्यकर्मीहरूले विद्यालय र घरघरमा पुगेर खोप लगाउनुहुने छ’’ कार्यालय प्रमुख शर्माले भन्नुभयो ।
गतवर्ष १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको थियो । सो अभियानमा ११ हजार १ सय ७७ जनाले खोप लगाएका थिए । यो वर्ष पनि तोकेको लक्ष्य अनुसार सबैलाई खोप लगाइने छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार यो वर्ष कक्षा ६ मा पढ्ने किशोरीबाहेक १० वर्ष उमेर समूहका ६ जना भने विद्यालय बाहिर रहेको तथ्याङ्क छ । उनीहरूलाई पनि घरमै पुगेर खोप लगाइने भएको छ ।
कार्यालयले फागुन महिनालाई खोप महिनाको रूपमा नियमति अभियान पनि सञ्चालन गर्ने जनाएको छ । हरेक वर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दै अद्यावधिक समेत गर्नुपर्ने प्रावधान छ । आगामी वैसाख महिनाभित्र खोप पूर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गर्ने योजना छ ।