ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन ११ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने मतदान अधिृकत र सहायक मतदान अधिकृतलाई सोमबारदेखि अभिमुखीकरण सुरु गरिएको छ ।
जिल्ला समन्व्य समितिको सभा हलमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक दिने अभिमुखीकरण तालिम दिन लागेको हो ।
निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा गराउन तालिम दिन सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ८२ मतदान स्थलका एक सय २० मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी दुई सय ४० जनालाई तालिम दिन सुरु गरिएको जिल्ला न्यायाधीश एमव् मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृत थापा, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य र जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले तालिममा सहजीकरण गर्नुहुने छ । सोमबार एक सय २० जना र मङ्गलबार एक सय २० जना गरी दुई सय ४० जनालाई निर्वाचन सफल बनाउन गर्नुपर्ने कामहरूका बारेमा तालिम प्रदान गरिने छ ।
तालिममा मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचनलाई स्वच्छ,निष्पक्ष र विश्वाशनीय तवरले सम्पन्न गर्न मतदान अधिकृतहरूको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
तालिममा प्रमुख जिल्ला अधिकारी आचार्यले जिल्लामा भरपर्दो सुरक्षा व्यवस्था भएको हुँदा ढुक्क भएर मतदान कार्य सम्पन्न गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले निर्वाचनलाई सफल बनाउन कर्मचारीको ठुलो दायित्व भएको बताउनुभयो ।
मतदान अधिकृतहरूलाई दिइने तालिम सकेपछि मतदान केन्द्रमा खटिने अन्य कर्मचारीहरूको छनाेट गरिने जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमले जानकारी दिनुभयो । निर्वाचनमा जिल्लाभर एक हजार ७० कर्मचारी परिचालन गरिने उहाँको भनाइ छ ।
एक निर्वाचन क्षेत्र रहेको म्याग्दी बेनी नगरपालिकामा २२५७८,मङ्गलामा १३४४६, मालिकामा १३३५५, रघुगङ्गामा १४१५८, अन्नपूर्णमा १२०२९ र धवलागिरिमा १०८३१ गरेर ८६ हजार तीन सय ९७ मतदाता छन् । ती मध्ये ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना अन्य मतदाता रहेका छन् ।
जिल्लामा एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यतिखेर उम्मेदवार र राजनीतिक दलहरूले चुनावी कार्यक्रम लिएर मतदाताहरूको घरदैलोमा पुगेका छन् । जिल्लामा ८२ वटा मतदान स्थल र १ सय २० वटा मतदान केन्द्र कायम गरिएको छ ।
जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनशील,५८ वटा संवेदनशील र ८ वटा मतदान स्थल लाई समान्य भनेर वर्गीकरण गरेको छ ।