• ११ फागुन २०८२, सोमबार

रास्वपाका सभापति पराजुली कांग्रेसमा प्रवेश

blog

रास्वपा मकवानपुरका सभापति भरत पराजुली पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्दै । साथमा कांग्रेस सभापति गगनकुमार थापा ।

राममणि दाहाल

मकवानपुर, फागुन ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुली उक्त पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । पराजुलीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ मा आयोजित कार्यक्रममा स्वागत गर्नुभएको हो ।

पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का निर्वाचन संयोजक निराजन बर्तौला, युवा नेता राममणि न्यौपाने लगायतका नेताहरू पनि कांग्रेस प्रवेश गर्नुभएको छ । करिब तीन दशक कांग्रेसमा सक्रिय राजनीति गरेका पराजुली २०७९ साल साउनदेखि रास्वपामा आबद्ध हुँदै जिल्ला सभापति बन्नुभएको थियो । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ मा रास्वपाबाट उम्मेदवार बन्नुभएका पराजुलीले १२ हजारभन्दा बढी मत ल्याउनुभएको थियो ।

रास्वपा मकवानपुरले सोमबारनै हेटौँडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गर्ने तयारी गर्दै गर्दा सभापति पराजुली कांग्रेस प्रवेश गर्नुभएको हो । 

कांग्रेसमा पुनः फर्किएको जानकारी उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत दिनुभएको छ । उहाँले फेसबकमा लेख्दै रास्वपाले भ्रम र उत्तेजनाको राजनीति गर्न थालेकोले आफूले पार्टी परित्याग गरेको बताउनुभयो । 

रास्वपामा समयक्रममा पार्टीभित्र विकसित भएका प्रवृत्तिहरूले आफूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको भन्दै उहाँले आफूले सधैं इमानदारी, निष्ठा र जनसेवाको भावनासहित राजनीति गरेको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, "व्यक्तिगत स्वार्थ, आर्थिक प्रभाव वा व्यक्ति पूजामा आधारित राजनीतिक संस्कारसँग सहमत हुन नसकेकोले रास्वपा परित्याग गरेको हुँ।"