• ११ फागुन २०८२, सोमबार

तनहुँमा निर्वाचन तयारी तीव्र : १३५० मतपेटिका तयारी अवस्थामा

blog

जिल्ला विर्नाचन कार्यालयमा राखिएका मतपत्र । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, फागुन ११ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा भौतिक र मानवीय व्यवस्थापनका कामहरू अन्तिम चरणमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार निर्वाचनलाई स्वच्छ र मर्यादित रूपमा सम्पन्न गर्न जिल्लाभरि एक हजार ३५० वटा मतपेटिका आवश्यक पर्ने र ती सबै व्यवस्थापन भइसकेको छ ।

कार्यालयको सूचना अधिकारी दुर्गामाया आलेका अनुसार मतदानका लागि आवश्यक मतपेटिकाहरू जिल्ला आइपुगिसकेको छ । आलेले भन्नुभयो, “धेरैजसो मतपेटिका पुरानै स्टकमा रहेका र केही थप गरी पर्याप्त मात्रामा तयारी अवस्थामा राखिएको छ ।’’ प्रत्येक मतदान केन्द्रमा जाने टोलीहरूले सर्वदलीय बैठकसहित निर्वाचन सफल बनाउन आ–आफ्नो तर्फबाट योगदान दिने तयारी समेत भएको छ।

मतपेटिका र अन्य सामग्रीको व्यवस्थापनसँगै निर्वाचनका लागि खटिने मुख्य जनशक्तिको पनि टुङ्गो लागेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले  सूचना प्रकाशन गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सार्वजनिक गरेको हो । विवरण अनुसार क्षेत्र नम्बर १ मा १५८ जना मतदान अधिकृत र १३४ जना सहायक मतदान अधिकृत खटिनेछन् भने क्षेत्र नम्बर २ मा १५६ जना मतदान अधिकृत र १५६ जना नै सहायक मतदान अधिकृत छनोट भएका छन् ।

छनोट भएका यी कर्मचारीहरूलाई सोमबार बिहान ११ बजे दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा विशेष प्रशिक्षण दिइने कार्यक्रम तय भएको छ । तालिमपश्चात् आवश्यक कर्मचारी र निर्वाचन सामग्रीसहित उनीहरूलाई आ–आफ्नो कार्यक्षेत्र ९मतदान स्थल० मा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा हाल २ लाख ५४ हजार ३९७ मतदाता कायम छन् । मतपत्रहरू यसअघि नै क्षेत्र नं १ को हकमा दमौली र क्षेत्र नं २ को हकमा दुलेगौँडामा सुरक्षित राखिसकिएको छ । निर्वाचनलाई लक्ष्य गरी मतदाता शिक्षाका लागि १० वटै पालिकामा स्वयंसेवक समेत परिचालन गरिसकिएको छ । जसले मतदान प्रक्रिया र बदर मत न्यूनीकरणबारे घरदैलोमै पुगेर जानकारी गराइरहेको कार्यालयले जनाएको छ ।