हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन ११ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङका आवश्यक पर्ने मतपत्रबाहेक सम्पूर्ण सामग्री आइपुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका अनुसार मतपेटिका, मतदानमा प्रयोग हुने मसी मार्कर, छाप, स्टिकर लगायत निवार्चनमा प्रयोग हुने ५१ प्रकारका विभिन्न सामग्रीको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार निर्वाचन आयोगबाट १६ र जिल्ला निर्वाचन कार्यालयले ३७ प्रकारका निर्वाचन सामग्रीको व्यवस्थापन गरिएको छ ।
निर्वाचन अधिकृत ज्ञवालीले भन्नुभयो, ‘‘निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ, अब सामग्रीसहित कर्मचारीलाई मतदान केन्द्रमा खटाउँछौं ।’’ निर्वाचन सामग्रीमा मतपेटिका, मतदानमा प्रयोग हुने मसी मार्कर, छाप, स्टिकर तथा रङ्गीन मतदाता नामावली सहितका साम्रागीलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतका तालिम पश्चात जिम्मा लगाइने निर्वाचन अधिकारी ज्ञवालीको भनाइ छ।
मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्ने छ । मुस्ताङमा सोमबार मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारीलाई तालिम दिएर मतदान केन्द्रमा पठाइने छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले मतपत्र यसैसाता मुस्ताङमा आउने बताउनुभयो ।
मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचनको तयारी, मतदान स्थलको अनुगमन सहित अन्य काम तिब्र गतिमा अगाडि बढेको बताउनुभयो । मुस्ताङमा ३९ मतदान स्थलमा एक जगेडामा राख्ने गरी ४० मतदान अधिकृत र सहायक मतदान अधिकृत रहेका छन्। मुस्ताङमा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकाका २५ वटै वडामा कुल ११ हजार ३ सय २८ मतदाता रहेका छन् ।