• ११ फागुन २०८२, सोमबार

बाँकेमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरी

blog

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रशासनिक भवन । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, फागुन ११ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ महिनामा मात्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २०६ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।

माघ महिनामा जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २०६ वटा उजुरी परेको जनाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले ती मध्ये १८० वटा फर्छ्यौट गरिएको बताउनुभयो । 

उहाँले सो प्रकारका २६ वटा मात्र फर्छ्यौट हुन बाँकी रहेको जनाउँदै पछिल्लो समयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग विभिन्न प्रकारका घटनाहरु बढेको बताउनुभयो ।

सोही क्रममा घरेलु हिंसाअन्तर्गत ४० वटा उजुरी जिल्ला प्रहरी कार्यालयमा परेकोमा २५ वटा उजुरीको मिलापत्रमार्फत समाधान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सोही प्रकारले सो अवधीमा जिल्ला प्रहरी कार्यालयमा ३५३ वटा ठाडो उजुरी पनि परेका थिए । प्रहरीका अनुसार, प्रहरीमा ३५३ ठाडो उजुरी परेकोमा प्रहरीले १६७ वटा उजुरी सोही महिनामा फर्छ्यौट गरेको छ भने एउटा सम्बन्धित निकायमा लेखि पठाएको र १८६ वटा उजुरी फर्छ्याट गर्न बाँकी रहेका छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक पातलीका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा माघ महिनामै आर्थिक अपराधका ३४ वटा घटना दर्ता भएका थिए भने सोही अवधीमा महिला बालबालिका र जेष्ठ नागरिकसँग सम्बन्धित सात वटा मुद्दा पनि दर्ता भएका थिए ।

माघ महिनामा जिल्लामा विभिन्न प्रकारका १४३ वटा मुद्दा दर्ता भएको पनि प्रहरीले जनाएको छ । दर्ता भएका मुद्दाहरुमध्ये जघन्य अपराधका ६ वटा, गम्भीर अपराधका ५५ वटा र सामान्य अपराधका ८२ वटा मुद्दा रहेका थिए ।

ती मुद्दाहरूमा अनुसन्धानका लागि प्रहरीले १३३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी प्रवक्ता पातलीले बताउनुभयो ।

सोही अवधीमा लागू औषधतर्फ प्रहरीले १६३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, ११३० क्याप्सुल ट्रामाडोल, ३८ ट्याब्लेट नाइट्राजेपाम र १८ ग्राम ८०० मिलिग्राम गाँजा बरामद गरेको थियो ।