• २ असार २०८१, आइतबार

सबै विद्यालयमा नर्सको व्यवस्था गरिने

blog

बनेपा, साउन २ गते । बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामाले प्रदेशभित्रका १३ जिल्लाका ११९ वटै स्थानीय तहमा रहेका माध्यमिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’को व्यवस्था गरिने बताउनुभएको छ । आइतबार धुलिखेल अस्पतालको २५औँ वार्षिकोत्सव कार्यक्रमअन्तर्गत आयोजना गरिएको ‘बेसिक लाइफ सपोर्ट डे’ कार्यक्रममा मन्त्री लामाले प्रदेशभित्रका सबै माध्यमिक विद्यालयमा नर्सको व्यवस्था गरिने बताउनुभएको हो । 

मन्त्री लामाले प्रदेश सरकारले हालसम्म ११९ वटा स्थानीय तहका ४५९ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’को व्यवस्था गरिएको बताउनुभयो । उहाँले चालू आर्थिक वर्षमा थप ६० वटा विद्यालयमा नर्सको व्यवस्था गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री लामाले क्यान्सरलगायतका नसर्ने रोगका बिरामीका लागि सङ्घीय सरकारले दिने एक लाख रुपियाँ उपचार खर्चमाथि प्रदेश सरकारको तर्फबाट थप पचास हजार रुपियाँ सहयोग उपलब्ध गराउने बताउनुभयो । उहाँले रगत अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले रेडक्रस र ब्लड बैङ्कमा उपलब्ध हुने रगतलाई निःशुल्क गरिएको स्पष्ट पार्नुभयो ।

यस वर्षदेखि धुलिखेल अस्पतालले साउन १ गतेलाई ‘बेसिक लाइफ सपोर्ट डे’ (आधारभूत जीवन सहायता दिन)का रूपमा मनाउने भएको छ । अस्पतालले २५औँ वर्ष प्रवेशका अवसरमा हरेक वर्ष साउन १ गतेलाई ‘बेसिक लाइफ सपोर्ट डे’का रूपमा मनाउने भएको हो ।

अस्पतालले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र क्यानेडियन रेडक्रसको सहयोगमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका स्वास्थ्यकर्मी, एम्बुलेन्समा हिँड्ने पारामेडिक्स र स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारीलाई बेसिक लाइफ सपोर्ट तालिम प्रदान गरेको छ । तालिममा बिरामीको मुटुको धड्कन बन्द भएको खण्डमा मुटुको धड्कन पुनरुत्थान गरेर बिरामीलाई होसमा ल्याउने विधि सिकाइएको धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले बताउनुभयो । 

अस्पतालले आधारभूत जीवन सहायता तालिमअन्तर्गत काभ्रेमा ३६९, सिन्धुपाल्चोकमा ९६८ र धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी १८० जनालाई तालिम प्रदान गरिएको धुलिखेल अस्पतालका डा. सम्झना काफ्लेले जानकारी दिनुभयो ।