होमराज रानाभाट
कावासोती, फागुन ११ गते । दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासी जिल्लामा ३३ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । मतदाताको विश्वास जित्न उम्मेदवार मतदाताका घर घर पुगिरहनु भएको छ । पूर्वी नवलपरासीको विकास जनताको भावना अनुसार गरिरहेको र सोही अनुसार प्रतिबद्धता नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं क्षेत्र नं. २ का उम्मेदवार तिलबहादुर महत क्षेत्रीले बताउनुभयो ।
२०४८ देखि लगातार कांग्रेसले जितेको क्षेत्र हो क्षेत्र नम्बर १ । २०७९ सालको निर्वाचनमा जितेको क्षेत्र नं. २ अहिले पनि कांग्रेसले नै जित्ने दाबी नेपाली कांग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेशका सांसद महेन्द्रध्वज जिसीले गर्नुभयो ।
२०४८ देखि पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. १ मा चार पटकसम्म विजयी नेता डा. शशाङ्क कोइरालाको यो पटकको अनुपस्थितिले कांग्रेसलाई विरासत जोगाउने चुनौती रहेको नेकपा (एमाले) का उपाध्यक्ष यमनाथ आचार्यले बताउनुभयो ।
डा. कोइरालाले निर्वाचन क्षेत्र छोडेपछि कांग्रेसलाई आफ्नो विरासत जोगाउने चुनौती थपिएको कावासोती नगरपालिका–२ का गोपाल बस्ताकोटीले बताउनुभयो ।
एमालेले लगातार हारपछि आफ्नो आधार विस्तार गर्ने रणनीति बनाएको देखिन्छ । २०७९ मा दोस्रो स्थानमा रहेको एमाले यस पटक विजयी हुने दाबी स्थानीय नेताले गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी पनि अघिल्लो पटकको पराजयको बदला लिने दाउमा रहेको छ । नेपाली कम्युनिस्ट पार्टी अहिले जेनजी आन्दोलनपछि राजनीति र मतदाता फेरिएको भन्दै मतदाता सङ्ख्या बढाएर विजयी बन्ने आशामा रहेको छ । सबै चार दलले आफ्नो रणनीति र प्रतिस्पर्धा व्यापक बनाइरहेका देवचुली नगरपालिका–१३ का वडाध्यक्ष एकदेव पौडेलले बताउनुभयो ।
यस क्षेत्रमा राजनीतिक प्रतिस्पर्धा मात्र होइन विकासका मुद्दा, स्थानीय समस्या र युवाको आकाङ्क्षा पनि चुनावी एजेन्डा बनेका छन । मतदाता अब केवल पार्टीको प्रतिष्ठामा मात्र होइन, उम्मेदवारको व्यक्तित्व, क्षमता, र क्षेत्रको विकासका लागि उनीहरूको दृष्टिकोणमा पनि मतदान गर्ने बताइएको छ । क्षेत्र नं. १ का १६ जना उम्मेदवार अहिले आफ्ना एजेन्डा लिएर घरदैलोमा मत माग्न व्यस्त भएको देवचुली नगरपालिका–४ का मतदाता दीपेन्द्र थापाले भन्नुभयो ।
नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ । एमालेले भागीरथ सापकोटा, नेपाली कम्युनिस्ट पार्टीले लोकप्रसाद भुर्तेल, राष्ट्रिय स्वतन्त्र पार्टीले राजन गौतमलाई उम्मेदवार बनाएको छ । यी चारै जना मुख्य प्रतिस्पर्धी रहेको नेकपाका नेता सत्यनारायण भुसालले बताउनुभयो । स्थानीय तहदेखि सङ्घीय तहसम्म नवलपुर–१ ले भोग्दै आएका विकासका समस्या, युवाको पलायन, शिक्षाको गुणस्तर र रोजगारीका अवसर सिर्जनालाई केन्द्रमा राखेर उम्मेदवार घरदैलो अभियानमा सक्रिय छन् ।
जिल्लाको क्षेत्र नं. २ मा यसअघि निरन्तर जित्दै आएको एमाले २०७९ को निर्वाचनमा भने दुई हजार मतले पराजित बन्न पुगेको थियो । अहिले सो क्षेत्रबाट कांग्रेसबाट ओमबहादुर घर्ती, एमालेबाट तिलबहादुर महत क्षेत्री, नेकपाबाट घनश्याम महतो, रास्वपाबाट मनिष खनालसहित १७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।