• ११ फागुन २०८२, सोमबार

मत माग्ने नयाँ अभ्यास

मर्निङ वाकदेखि योगसम्मको सक्रियता

blog

दाङ समाचारदाता

दाङ, फागुन ११ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा दाङ क्षेत्र नं. २ का उम्मेदवारले मतदातालाई रिझाउन विभिन्न शैली अपनाइरहेका छन् । परम्परागत घरदैलो अभियान र चुनावी सभासँगै अहिले उम्मेदवारहरूले बिहानको समय उपयोग गर्दै मर्निङ वाक, योग, पूजापाठदेखि तरकारी बजारसम्म पुगेर मत माग्न फरक शैली अवलम्बन गर्न थालेका छन् ।

नेकपा (एमाले) का महासचिव एवं सो क्षेत्रका उम्मेदवार शङ्कर पोखरेल बिहान साढे पाँच बजेदेखि नै मतदातासँग भेटघाटमा व्यस्त रहँदै आउनुभएको छ । उहाँ बिहानै मर्निङ वाकमा सहभागी भई मतदातासँग हिँड्ने, रमाइलो गर्ने, नाच्ने र योगा स्थलमा पुगेर अभ्यासमा सहभागी हुनुहुन्छ छ । नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरे पनि घरदैलो अभियानसँगै मर्निङ वाकदेखि योगा स्थलमा पुग्दै आउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार निर्मल आचार्यले पनि उस्तै शैली अवलम्बन गर्नुभएको छ । उहाँ पनि मर्निङ वाकदेखि तरकारी बजारमा तरकारी किन्दै मतदातासँग भेटघाट गर्दै आउनुभएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन आचार्य पनि मर्निङ वाक, योग स्थलमा पुगेर मतदातासमक्ष आफ्ना वाचा सुनाउँदै आउनुभएको छ । विभिन्न सामाजिक कार्यदेखि सांस्कृतिक कार्यमा सहभागी भई नाचगान, पूजापाठमा सहभागी भएर उम्मेदवारले मतदाताहरूको मन जित्ने प्रयास गरिरहनुभएको छ । 

अब मतदाता भेट्ने स्थान चियाचौतारी वा सभा मात्र नभई योगा स्थल र मर्निङ वाकको मैदान पनि बनेका छन् । मतदातासँग स्वास्थ्य र आत्मीयताको सम्बन्ध जोड्दै मत माग्ने यो नयाँ अभ्यासले निर्वाचन अभियानमा नयाँ ऊर्जा भरेको बयालाडाँडा चौतारी क्लब दाङका अध्यक्ष नारायण भुसालले बताउनुभयो । 

२०७९ सालमा स्थापना भएको क्लबले सामूहिक रूपमा मर्निङ वाकदेखि योग सम्मका कार्यक्रम नियमित रूपमा सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष भुसालले बताउनुभयो । उहाँका अनुसार क्लबमा हाल ७५० जना सदस्य रहेका छन् । “हाम्रो क्लबमा ७५० जना सदस्य हुनुहुन्छ,” अध्यक्ष भुसालले भन्नुभयो, “तर मर्निङ वाकमा त्योभन्दा धेरैजना सहभागी हुँदै आउनुभएको छ । हामी नाच्दै, रमाउँदै दैनिक रूपमा मर्निङ वाक गर्छौं । दलका उम्मेदवारहरू पनि सहभागी हुन आउनुहुन्छ, जसले हामीलाई थप उत्साहित बनाएको छ ।” प्रायः सबै राजनीतिक दलका उम्मेदवारहरू पालैपालो मर्निङ वाकमा आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरू हामीसँगै  वाकमा सहभागी हुनुहुन्छ, नाच्नुहुन्छ र आफ्नो चुनावी प्रतिबद्धता पनि सुनाउनुहुन्छ ।”