भवानीदत्त भट्ट
बेलौरी (कञ्चनपुर), फागुन ११ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन मिति नजिकिँदै गर्दा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा पुराना र नयाँ अनुहारबिच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभा सदस्यका लागि यस क्षेत्रबाट १९ उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
यस निर्वाचन क्षेत्रमा अघिल्ला निर्वाचनमा विजयी हुँदै आएका पुराना पार्टीका उम्मेदवारको मतदातामा गहिरो प्रभाव रहँदै आएका बेला नयाँ अनुहार भने फरक शैलीमा चुनावमा होमिएका छन् ।
२०४८ सालको पहिलो संसदीय निर्वाचन, २०५६ र २०७० को गरेर तीन पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ । २०५१ र २०७९ सालमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले निर्वाचन जितेको थियो । २०६४ र २०७४ मा तत्कालीन नेकपा (माओवादी केन्द्र) हालको नेकपाका उम्मेदवार विजयी भएका थिए । विगतका निर्वाचन परिमाणलाई केलाउँदा कांग्रेस, एमाले र तत्कालीन माओवादीबिच यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुँदै आएको छ ।
आगामी निर्वाचनमा पनि यी तीन दलका उम्मेदवार मत तान्ने प्रयासमा मतदातासमक्ष भोट मागिरहेका छन् । नयाँ उम्मेदवार विकासका दृष्टिकोणले पिछडिएको यस क्षेत्रको समग्र सुधारका लागि नयाँ योजनासहित चुनावमा होमिएका छन् ।
यो क्षेत्रबाट नेकपाबाट नेपाल सरकारका पूर्वमन्त्री बिना मगर, नेकपा (एमाले) बाट प्रदेश सरकारका पूर्वमन्त्री तारा लामा तामाङ र नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय चुनावी मैदानमा हुनुहुन्छ ।
यस क्षेत्रबाट पुरानो अनुहारमध्ये एमालेका उम्मेदवार तारा लामा तामाङ विगतका अधुरा योजनालाई पूर्णता दिने अठोटका साथ मतदातासामु मत मागिरहनुभएको छ । संसद् विघटन भएपछि यस क्षेत्रको विकासका लागि छुट्याइएका कैयौँ योजना अलपत्र परेकाले ती योजनाहरू अगाडि बढाउनुका साथै नयाँ विकासनिर्माणका कार्य सुरुवातका लागि उम्मेदवार बनेको उहाँ बताउनुहुन्छ ।
नेकपाका उम्मेदवार बिना मगर विद्यार्थी राजनीतिदेखि नै सक्रिय हुनुहुन्छ । नेता मगर आगामी निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेसँगै चुनावी प्रचारप्रसारमा व्यस्त देखिनुभएको छ । मगरले यस क्षेत्रका महिलाका समस्या, पूर्वाधार विकास, रोजगारी, शिक्षा क्षेत्र सुधारलगायतका विषय प्रमुख प्राथमिकतामा राखेर भोट माग्दै हुनुहुन्छ । वाम मत तान्ने प्रयासमा मगर चुनावी दौडधुपमा व्यस्त देखिँदा नयाँ उम्मेदवार भने यस क्षेत्रको विकासका लागि फरक शैलीमा मतदातासामु भोट मागिरहनुभएको छ ।
यस क्षेत्रबाट ठुलो दल नेपाली कांग्रेसबाट पहिलो पटक उम्मेदवार बनेका गोपीप्रसाद उपाध्याय कार्यकर्ता भेटघाटसँगै घरदैलो अभियानमा सक्रिय हुनुहुन्छ । पहिलो पटक उम्मेदवार भएका उपाध्याय यस क्षेत्रको राजनीतिमा भने विगतदेखि नै सक्रिय रहँदै आउनुभएको छ । कांग्रेसले मत प्राप्त गर्नेमा उहाँ विश्वस्त देखिनुभएको छ । यस क्षेत्रको समग्र विकासका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनकसिंह धामी उम्मेदवार बन्नुभएको छ । धामी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएको हो । यस क्षेत्रमा लोकप्रिय नेता धामीले नेपाली कांग्रेसबाट राजनीतिक जीवन अगाडि बढाउनुभएको थियो । उहाँले यस क्षेत्रको दीर्घकालीन विकासका लागि चुनावमा होमिएको बताउनुभयो । शनिबार बेलौरीमा पत्रकार सम्मेलन गर्दै नेता धामीले आरक्षपीडितको समस्या समाधान, मानव–वन्यजन्तु नियन्त्रण, खुला सीमानाका व्यवस्थापन, भूमिहीन सुकुमवासी समस्या समाधानलाई प्रमुख प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।