• ११ फागुन २०८२, सोमबार

तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट

blog

जिल्ला निर्वाचन कार्यालय तनहुँको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, फागुन १० गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ र निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ ले सूचना प्रकाशन गरी खटिने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक विवरण अनुसार तनहुँ क्षेत्र नम्बर १ मा १५८ जना मतदान अधिकृत र १३४ जना सहायक मतदान अधिकृत खटिने भएका छन्। त्यस्तै, क्षेत्र नम्बर २ मा १५६ जना मतदान अधिकृत र १५६ जना नै सहायक मतदान अधिकृत छनोट गरिएको छ । दुवै निर्वाचन क्षेत्रका लागि छनोट भएका यी कर्मचारीहरूलाई आगामी फागुन ११ गते सोमबार बिहान ११ बजे आदिकवि भानुभक्त क्याम्पसमा प्रशिक्षण दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जनशक्ति व्यवस्थापनसँगै जिल्लामा मतदाता शिक्षालाई पनि तीव्र बनाइएको छ। निर्वाचनका क्रममा हुन सक्ने प्राविधिक त्रुटि रोक्न र बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्लाका १० वटै स्थानीय तहमा स्वयंसेवकहरू परिचालन गरिएको हो । मतपत्र जिल्ला आइपुगेसँगै मतदातालाई मतपत्र प्रयोग गर्ने सही तरिका सिकाउन निर्वाचन कार्यालयले विशेष सक्रियता देखाएको छ ।

कार्यालयका अनुसार सबै वडामा स्वयंसेवकहरूलाई मतदान प्रक्रिया र मतदाताको अधिकारका विषयमा अभिमुखीकरण दिएर खटाइएको छ । विशेषगरी नयाँ मतदाता, ज्येष्ठ नागरिक र कम साक्षर भएका व्यक्तिहरूलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिएको हो । यसपटक तनहुँमा कुल २ लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रहरू यसअघि नै जिल्ला आइपुगिसकेका छन्, जसलाई क्षेत्र नं १ को हकमा दमौली र क्षेत्र नं २ को हकमा दुलेगौँडास्थित कार्यालयमा सुरक्षित राखिएको छ ।