पशुपतिनगर समाचारदाता
पशुपतिनगर (इलाम), फागुन ११ गते । इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनको पहल सुरु गरिएको छ ।
कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोड रुपियाँभन्दा बढी लागतमा नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले पहल थालेको हो ।
केन्द्रको भवन निर्माण भएर पनि उपकरण र प्राविधिक जनशक्त्किा कारण केन्द्र सञ्चालनमा आउन सकेको थिएन । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, हात्तीसार क्याम्पस धरानका सञ्चालक समिति अध्यक्ष प्राध्यापक डाक्टर धनबहादुर भण्डारीसहितको प्रतिनिधि मण्डलले केन्द्रको अवलोकन गरी सरोकारवालासँंग केन्द्र सञ्चालनको प्रव्रिmया अगाडि बढाउनका लागि छलफल गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री लिङ्थेपले निर्माण भइसकेको केन्द्र सञ्चालनका लागि कार्यविधि र सञ्चालनको पद्धति तयार गर्नुपर्ने बताउनुभयो । केन्द्र सञ्चालनको स्वीकृतदेखि गुणस्तरीय ल्याब सञ्चालनका लागि पहल थाल्नुपर्ने मन्त्री लिङ्थेपले बताउनुभयो । उहाँले उक्त केन्द्रमा परीक्षण गरिएको चियाले विश्व बजारमा मान्यता पाउनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) र हात्तीसार क्याम्पससँंगको समन्वयमा ल्याब सञ्चालन गर्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । मन्त्री लिङ्थेपले भन्नुभयो, “यो केन्द्र सञ्चालनका लागि आगामी वर्षको नीति तथा कार्यव्रmममा प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्छ तर केन्द्रको उपलब्धि देखिनु पर्छ ।”
चियाको राजधानी मानिएको सूर्योदयसहित इलाम देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने क्षेत्र हो तर नेपालको चियाको ९५ प्रतिशत बजार भारत भएका कारण चिया निकासी गर्दा परीक्षणका कारण बर्सेनि चिया उद्योगी र व्यवसायीले झन्झट बेहोर्दै आउनु परेको छ । चिया भारत निकासी गर्दा परीक्षणमा लामो समय लाग्ने र विषादीको मात्र बढी देखिएको भन्दै नेपालको चिया निर्यातमा भारतले अङ्कुश लगाउने गरेको छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष निरौलाले केन्द्र सञ्चालन गर्न सरकारले मात्र सम्भव नहुने भएकाले सार्वजनिक निजी साझेदारी मोडलमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले केन्द्र सञ्चालनका लागि सूर्योदय नगरपालिकाले सञ्चालन कार्यविधि बनाउनुपर्ने बताउनुभयो । छलफलमा भएको सहमति अनुसार नगरले तत्काल केन्द्र सञ्चालनको कार्यविधि तयार गर्ने सूर्योदयका कार्यवाहक नगरप्रमुख
दुर्गाकुमार बरालले जानकारी दिनुभयो । बरालले यहाँ परीक्षण गरिएको चिया निर्यात गर्दा विश्व बजारले मान्यता दिनेमा शङ्का रहेको बताउनुभयो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीका अनुसार हाल चिया उत्पादन गर्ने विश्वका ४५ देशमध्ये नेपाल १६ औँ स्थानमा छ । नेपालमा वार्षिक रूपमा ७५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गरी स्वदेश तथा विदेशमा गरी वार्षिक १५ अर्बभन्दा बढीको आर्थिक कारोबार भइरहेको छ । उहाँले केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले बनाएको कार्यविधि सार्वजनिक गर्नुपर्ने बताउनुभयो । उहाँले ल्याब सञ्चालनका लागि प्राविधिक जनशक्तिको कमी र नेपालमा सफ्टवेयर कारण परीक्षण नै महँगोपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले चियाको छुट्टै ऐन ल्याउनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
तत्काल चार करोड रुपियाँ रकम भए मात्र केन्द्र सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ । हात्तीसार क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राडा कार्कीले नेपालमा गरिने परीक्षण महँगोपर्ने भएकाले नास्टसंँग समन्वय गरी केन्द्र सञ्चालन गर्ने जानकारी दिनुभयो । सूर्योदय टी प्रोड्युस प्रालिका महासचिव गोपाल कट्टेलले परीक्षण केन्द्र सञ्चालनमा आउनुअघि विज्ञसहित सञ्चालक समिति निर्माण गर्नुपर्ने र निजी क्षेत्रलाई समेट्नुपर्ने बताउनुभयो ।
बर्सेनि चिया क्षेत्रमा आउने समस्याका कारण किसानले उचित मूल्यसमेत नपाएको अवस्था छ । चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि प्रदेश सरकारले आगामी वैशाखमा सूर्योदयसहित कोशी प्रदेशका विभिन्न जिल्लामा चिया सम्मेलन पनि गर्ने तयारी भएको छ ।