सल्यान समाचारदाता
सल्यान, फागुन ११ गते । जिल्लाका १६ वटा सामुदायिक वनमा कर्णाली प्रदेश सरकारको पहलमा दिगो वन व्यवस्थापन कार्यक्रम लागु भएको छ । सामुदायिक वनको दिगो व्यवस्थापन प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार लागु भएको हो । कार्यक्रमको औपचारिक शुभारम्भ कालीमाटी गाउँपालिका–२ स्थित सगरमाथा सामुदायिक वनबाट गरिएको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सामुदायिक वनमा रहेका धेरै रुख पुराना हुँदै गएको र कुहिने अवस्थासम्म पुग्दा उपभोक्ताले पर्याप्त लाभ लिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “रुख खेर जाँदा न उपभोक्ताले फाइदा लिन सकेका छन्, न त राज्यले आर्थिक आम्दानी पाएको छ । अब दिगो वन व्यवस्थापनमार्फत सय वर्षभन्दा पुराना रुखबाट पनि आर्थिक लाभ लिन सकिने छ ।”
उहाँका अनुसार पुराना तथा रोगग्रस्त रुखको वैज्ञानिक व्यवस्थापन गरी नयाँ बिरुवा हुर्काउने वातावरण तयार पारिने छ । यसबाट वनको पुनर्जनन प्रक्रिया सुदृढ भई दीर्घकालीन रूपमा संरक्षण सुनिश्चित हुने छ । उहाँले भन्नुभयो, “यस कार्यक्रमबाट वर्तमान पुस्ता मात्र होइन, भावी पुस्ताले पनि लाभ लिन सक्ने छ ।”
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले प्रदेश सरकारले आवश्यक कार्यविधि निर्माण गरिसकेकाले सोही अनुसार कार्यक्रम कार्यान्वयन गरिने जानकारी दिनुभयो । यस वर्ष जिल्लाका १६ वटा सामुदायिक वनमा दिगो वन व्यवस्थापनको काम अघि बढाइने उहाँले बताउनुभयो । दिगो वन व्यवस्थापनले वनको उत्पादनशीलता बढाउने, वनजन्य स्रोतको सदुपयोग सुनिश्चित गर्ने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पु¥याउने छ । यस कार्यक्रमबाट प्राप्त आम्दानी समुदायको विकासमा खर्च गरिने अपेक्षा गरिएको छ ।
सामुदायिक वन उपभोक्ता समूह सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले सामुदायिक वन समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण, व्यवस्थापन र सदुपयोग अनिवार्य रहेकोमा जोड दिनुभयो । उहाँले दिगो वन व्यवस्थापनले समुदायलाई दीर्घकालीन रूपमा फाइदा पुग्ने दाबी गर्नुभयो ।