काठमाडौँ, फागुन ९ गते । नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ । शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने देखिएपछि रास्वपा उच्छृङ्खल गतिविधिमा लागेको दाबी गरेको हो ।
एमाले निर्वाचन प्रचार समितिका संयोजक मीनबहादुर शाहीले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण सिर्जना गरिएको बताउनुभयो । उहाँका अनुसार देशभर एमालेको झण्डा र प्रचार सामग्री जलाउने तथा समुदायबीच द्वन्द्व फैलाउने गतिविधि तीव्र बनेका छन् । "निर्वाचन बिथोल्न रास्वपाले एमालेको झण्डा जलाउने र घृणा फैलाउने कार्य गरिरहेको छ," शाहीले भन्नुभयो, "शान्ति–सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको छ ।"
शाहीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउनेबीचको जनमत सङ्ग्रह’ का रूपमा लिएको उल्लेख गर्नुभयो । कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, भ्रमपूर्ण सर्वेक्षण सार्वजनिक गरी मतदातालाई प्रभाव पार्न खोजिएको उहाँको आरोप छ ।
"चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपा चुनाव भाँड्न सक्रिय भएको पुष्टि हुन्छ," शाहीले थप्नुभयो, "रौतहटको गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यु यसैको परिणाम हो। यस्तो अवस्थामा स्वच्छ र भयरहित मतदानको अधिकार संरक्षण गर्ने दायित्व सरकारको हो ।"
एमालेले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेको भन्दै निर्वाचन आयोगको उदासीनताप्रति पनि आपत्ति जनाएको छ । होली पर्वको अवसरमा अमुक दलको चुनाव चिह्न अङ्कित टिसर्ट वितरण गरिएको दाबी गर्दै एमालेले निष्पक्ष वातावरण निर्माण गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएको छ ।