• ९ फागुन २०८२, शनिबार

राजविराजमा जनमतको युवालाई प्रशिक्षण, बुथ र मतदाताको सुरक्षा गर्न निर्देशन

blog

जनमत पार्टीको प्रशिक्षणमा सहभागि युवाहरु । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), फागुन ९ गते । जनमत पार्टीले सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ स्थित राजविराजमा शनिवार युवाहरुलाई चुनाव लक्षित प्रशिक्षण दिएको छ । यहाँस्थित राजेदवी स्कूलको मैदानमा पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतले युवाहरुलाई प्रशिक्षण दिनुभएको हो ।

यसै क्षेत्रबाट दोस्रो पटक प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार समेत रहनु भएका डा. राउतले प्रशिक्षणको क्रममा युवाहरुलाई बुथ र मतदाताको सुरक्षा गर्न आग्रह गर्नुभयो । उहाँले फागुन २१ मा हुने निर्वाचनमा बुथ र मतदाताको सुरक्षा मुख्य जिम्मेवारी भएकाले युवाहरुलाई त्यसतर्फ केन्द्रित हुन निर्देशन दिनुभयो ।

आफ्नो पार्टीको मुख्य लक्ष्य नै ‘विकास र निकास’ भएको बताउँदै उहाँले गरिब, दलित, मुस्लिम तथा पिछडिएको सिमान्तकृत समुदायको पक्षमा जनमत पार्टी वकालत गर्दै आएको धारणा राख्नुभयो ।

“जनमत पार्टी आफ्नो कुनै एजेन्डाबाट पछि हटेको छैन, रोजगारीको एजेन्डा हाम्रो छँदैछ, एक सिट जितेर दुई–अढाई वर्षमै पुरा गर्न नसकिने भएको हुँदा क्रमशः हरेक ठाउँमा रोजगारीकै लागि ग्राम उद्योग भवनको पूर्वाधारहरु निर्माण भइरहेको छ, केही ठाउँमा निर्माण समेत भईसकेको छ” प्रशिक्षणको क्रममा डा. राउतले भन्नुभयो ।

सोही प्रशिक्षणलाई सम्बोधन गर्नुहुँदै जनमत पार्टीका नेता एवं मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले जनमत पार्टीले ल्याएको रोजगारीको मुद्दा अहिले सबै पार्टीको चुनावी घोषणापत्रमा आउनु भनेको नै जनमतको जित भएको विचार व्यक्त गर्नुभयो ।

‘सधैं दलित–गरिब समुदायको पक्षमा आवाज उठाउने डा. सीके राउत हो, हामी शासक होईनौं, हामी जनताको सेवक हौं” यादवले भन्नुभयो । प्रशिक्षण कार्यक्रमपछि युवाहरुले डा. राउतको समर्थनमा शक्ति प्रदर्शन गर्दै राजविराज नगरक्षेत्रको मुख्य–मुख्य चौक परिक्रमा समेत गरेका छन् ।