माधवप्रसाद बराल
माछापुच्छ्रे (कास्की), फागुन ९ गते । २५औँ संस्करणको आहारारा गोल्ड कप उपाधि आयोजक सहारा क्लबले जितेको छ ।
पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा आयोजक सहाराले ‘ए’ डिभिजन टोली जावलाखेल युथ क्लबलाई २–० गोलले हरायो । आयोजक सहाराले १२ वर्षपछि उपाधि उचालेको हो । यसअघि उसले २०७० सालको १२औँ संस्करण जितेको थियो ।
उपाधिसहित सहाराले १४ लाख एक हजार रुपियाँ पुरस्कार पायो । उपविजेता जावलाखेलले सात लाख रुपियाँ प्राप्त गरेको छ । सहारालाई उपाधि दिलाउन कप्तान सुशील लामाको योगदा महत्वपूर्ण रह्यो ।
२५औँ मिनेटमा सुशील लामाले हानेको कर्नर बललाई मुकुन्दकुमार निउरेले हेडमार्फत् पोस्टको दिशा दिँदा गोलमा परिणत भएको थियो । ७३औँ मिनेटमा खेलमा प्लयेर अफ दी म्याच घाषित सुशीलले दिएको पासलाई टाय बादारुले हेडिङ गर्दै गोल गर्नुभएको थियो ।
जावलाखेलका निकोलस र बोबाकारले केही राम्रा अवसरलाई सदुपयोग गर्न सक्नुभएन । जावलाखेलका प्रशिक्षक सुनील कुमार स्कोर गर्न नसक्दा हार व्यहोरेको बताउनुभयो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्नुभएका सहारा क्लबका मुकुन्दकुमार निउरेले उदीयमान खेलाडी पनि घोषित हुनुभयो । उहाँलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको छ ।
हाइस्कोरर प्यालिङ ब्बाइजका पापा इबु, बेस्ट गोलकिपर टिकेन्द्र थापा सहारा क्लब, बेस्ट मिडफिल्डर बोबाकार जावलाखेल, बेस्ट स्टाइकर धर्बेन्द्र कुँवर जाउलाखेल, बेस्ट प्रशिक्षक सुनील रानामगर सहारा क्लब र अनुशासित टिम आभा फुटबल क्लब उज्बेकिस्तान बनेको छ ।
विधागतमा उत्कृष्ट हुनेलाई जनही नगद २५ हजार रुपियाँ प्रदान गरिएको छ । प्रतियोगितामा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।