• ९ फागुन २०८२, शनिबार

सहकारीको ऋण तिर्न ऋणीलाई प्रहरीको सूचना

blog

केदार तिमल्सिना

बनेपा, फागुन ९ गते । सहकारीमा बचतकर्ताको रकम हिनामिना गर्ने सञ्चालकमाथि कारबाही भइरहेका बेला अब ऋण लिएर नतिर्ने ऋणीहरू पनि कानुनी दायरामा आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपामा सञ्चालित दुई वटा सहकारीबाट ऋण लिई नतिर्ने ऋणीहरूलाई तुरुन्त सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको छ ।

प्रहरीले बनेपा नगरपालिका–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र वडा नम्बर-१० स्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाका ऋणीहरूका लागि पाँचदिने अल्टिमेटम दिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठका अनुसार यी दुवै सहकारीबाट १४२/१४२ जना (कुल २८४ जना) व्यक्तिले ऋण लिएर चुक्ता गरेका छैनन् ।

"बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको भन्दै सञ्चालक समिति विरुद्ध मुद्दा दर्ता भएको छ," प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, "अनुसन्धानका क्रममा धेरै ऋणीले रकम फिर्ता नगरेको देखिएकाले पाँच दिनभित्र ऋण तिर्ने योजनासहित अनिवार्य उपस्थित हुन सूचना जारी गरिएको हो ।"

तोकिएको समयभित्र सम्पर्कमा नआउने ऋणीहरूलाई कानुनबमोजिम कडा कारबाही गरिने प्रहरीले चेतावनी दिएको छ । बचतकर्ताको ठगी भएको रकम असुल उपर गर्ने प्रक्रिया अन्तर्गत ऋणीहरूलाई समेत केन्द्रमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।