• ९ फागुन २०८२, शनिबार

सल्यानमा नमूना मतदानमा १६.६७ प्रतिशत मत बदर

blog

सल्यानमा सदरमुकाम खलङ्गामा गरिएको नमूना मतदान मतदान गर्दे । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, फागुन ९ गते । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सल्यानमा गरिएको नमूना मतदानमा १६.६७ प्रतिशत मत बदर भएको पाइएको छ। मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगीका अनुसार अभ्यासका क्रममा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ अन्तर्गत नमुना मतदान गराइएको थियो।

पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ १८ मत खसेकोमा १३ मत सदर र ५ मत बदर भएका थिए। समानुपातिकतर्फ पनि १८ मत खसेकोमा १५ मत सदर र ३ मत बदर भएका थिए। दुवै प्रणालीको समग्र हिसाबमा ३६ मतमध्ये ६ मत बदर हुँदा १६.६७ प्रतिशत मत बदर भएको देखिएको हो।

सदरमुकाम खलङ्गास्थित लुहापिङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको समन्वयमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास सम्पन्न गरिएको थियो। अभ्यासमा १५ महिला र १५ पुरुष गरी ३० जनाको सहभागिता रहेको थियो।

जिल्ला निर्वाचन कार्यालय सल्यानका जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले मतदान प्रक्रिया, सम्भावित जोखिम न्यूनीकरण, मतदान सम्पन्न भएपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्‍याउने विधि तथा सुरक्षा घेराबन्दीसम्बन्धी व्यवहारिक अभ्यास गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मतदान अधिकृतसहितको नमुना अभ्यास दुई चरणमा गरिने छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी डा. हेम केसीले निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई अभ्यस्त बनाउन तथा अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन यस्तो अभ्यास गरिएको बताउनुभयो। उहाँका अनुसार मतदान स्थल निर्माण, पोस्ट–बिटमा गरिने काम, मतदान केन्द्रको सुरक्षा व्यवस्था र सम्भावित जोखिम व्यवस्थापनका विषयमा प्रत्यक्ष अभ्यास गरिएको हो।

अभ्यासका क्रममा मतदान स्थलमा हुलदङ्गा वा अवरोध सिर्जना भएमा सुरक्षा संयन्त्र कसरी परिचालन हुन्छ भन्ने प्रदर्शनसमेत गरिएको थियो। नमुना अभ्यास अनुसार पहिलो घेरामा रहेको नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गर्ने छ। अवस्था सामान्य नभए दोस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालन गरिने छ। त्यसबाट पनि स्थिति नियन्त्रणमा नआए अन्तिम विकल्पका रूपमा तेस्रो घेरामा रहेको नेपाली सेना परिचालन गरिने व्यवस्था रहेको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित बनाउन सुरक्षाकर्मी तथा सरोकारवाला निकायबिच समन्वय सुदृढ गर्ने उद्देश्यले अभ्यास गरिएको बताउनुभयो।

विगतको तथ्याङ्क र मतदाता शिक्षा अभियान

प्रतिनिधिसभा निर्वाचन २०७९ मा सल्यानमा एक लाख ५७ हजार ७०१ मतदाता रहेका थिए। तीमध्ये प्रत्यक्षतर्फ ८३ हजार ७०४ मत खसेकोमा ७६ हजार ३२८ मत सदर र ७ हजार ३७६ मत बदर भएका थिए, जुन कुल खसेको मतको ८.८१ प्रतिशत हो। समानुपातिकतर्फ ८४ हजार ७८९ मत खसेकोमा ७८ हजार ५७४ मत सदर र ६ हजार २१५ (७.३३ प्रतिशत) मत बदर भएको थियो।

प्रदेशसभा निर्वाचन २०७९ मा प्रदेशसभा (क) को प्रत्यक्षतर्फ ५.७० प्रतिशत र प्रदेशसभा (ख) को प्रत्यक्षतर्फ ४.७४ प्रतिशत मत बदर भएको थियो भने समानुपातिकतर्फ ७.५१ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दका अनुसार विगतमा देखिएको बदर मतको अवस्थालाई घटाउन वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। गाउँ–गाउँमा मत हाल्ने तरिका, मतपत्रमा सही चिह्न लगाउने विधि तथा सामान्य त्रुटिबारे सचेतना फैलाइँदै आएको छ। वास्तविक मतपत्रजस्तै नमुना मतपत्र प्रयोग गरी अभ्यास गराउने कार्यक्रमसमेत तय गरिएको उहाँले जानकारी दिनुभयो।

हाल सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता रहेका छन्। जसमध्ये ७९ हजार १२८ महिला र ८३ हजार ३२१ पुरुष मतदाता रहेका छन्। निर्वाचन कार्यालयले आगामी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी तीव्र रूपमा अघि बढाएको जनाएको छ।