काठमाडौँ, फागुन ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गर्नुभएको छ। शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उहाँहरूले चटकदार अनुहारभन्दा देश र समाज बुझेका जिम्मेवार राजनीतिक व्यक्तित्व र दल रोज्न मतदातालाई अपिल गर्नुभयो।
सामाजिक सञ्जालको भ्रमभन्दा बाहिर निस्केर अध्ययन र विश्लेषणका आधारमा स्थायी सरकार निर्माणका लागि विवेकपूर्ण निर्णय लिन उहाँहरूको आग्रह छ। बागमती प्रदेशका तत्कालीन उपसभापति दिनेश हुमागाईंले भावनात्मक प्रचारभन्दा नीतिगत स्पष्टताका आधारमा मत दिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, "चुपचाप होइन, धेरै अध्ययन गरेर मत हाल्नुहोस्। देशले निकास पाउने र स्थायी सरकार बन्ने गरी विवेक प्रयोग गर्ने बेला आएको छ।"
हुमागाईंले रास्वपा आफ्नो सिद्धान्तबाट विचलन भएको, समयमा अधिवेशन गर्न नसकेको र उम्मेदवार चयन प्रक्रिया अपारदर्शी भएको आरोप लगाउनुभयो। "नयाँको नाममा नेपाली जनता र ‘जेन–जी’ आन्दोलनमाथि नै धोकाधडी हुन लागेको छ," उहाँले टिप्पणी गर्नुभयो।
त्यस्तै, रास्वपाबाट अलग हुनुभएका प्रणय शमशेर राणाले पार्टी नेतृत्वले साङ्गठनिक पारदर्शिता र आन्तरिक लोकतन्त्र कमजोर बनाएको दाबी गर्नुभयो। "थितिको थालनी र बेथितिको अन्त्य भनिए पनि रास्वपामा चरम बेथितिको थालनी भएको छ," उहाँले भन्नुभयो, "प्राइमरी निर्वाचन भनिए पनि चुनावको मुखमा आएर सङ्गठनको अधिकार लुटियो।"
मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले बाहिर पारदर्शिताको कुरा गरे पनि भित्र अपारदर्शिता बढेकाले दैनिक रूपमा पार्टी छाड्नेको सङ्ख्या बढिरहेको बताउनुभयो। "जान्नेलाई छान्ने भनियो, तर काम ठ्याक्कै उल्टो भयो," उहाँले भन्नुभयो।
रास्वपा त्यागेका नेताहरूमध्ये राणा र शर्मा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ भने हुमागाईं हालसम्म कुनै पनि दलमा आबद्ध हुनुभएको छैन। उहाँहरूले मतदातालाई भावनात्मक लहर र आकर्षक नाराभन्दा दीर्घकालीन स्थायित्व र आन्तरिक लोकतन्त्रलाई आधार मान्न आग्रह गर्नुभएको छ।