निशा राई
धरान, फागुन ९ गते । १४औँ धरान १० के रन खुला उपाधि पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले जित्नुभएको छ ।
“शिक्षाको निम्ति च्यारेटी दौड’’ नाराको साथ शनिबार भएको धरान रनको १० किलोमिटर दूरी रावतले ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्नुभयो । श्रेष्ठले ३७ मिनेट ३६ सेकेन्डमा दूरी दौड पूरा गर्दै विजेता बन्नुभएको हो ।
महिला विजेता श्रेष्ठ दक्षिण एशियाली म्याराथनको स्वर्ण पदक विजेता, धरान रनको १३औँ विजेता र अन्तर्राष्ट्रिय हाफ म्याराथनको पदक विजेतासमेत हुनुहुन्छ । करिब तिन हजार पाँच सय सहभागी दौड नेपालकै सर्वाधिक धेरै धावक धाविकाको सहभागीता रहेको थियो ।
पुरुषतर्फ जुलियस मुरुकि वाहोमले ३१ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयो । अमिर लिम्बुले ३२ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै तेस्रो हुनुभएको छ । महिलातर्फ पुस्पा शेर्मा ४१ मिनेट ४४ सेकेन्डमा दूरी पार गर्दै दोस्रो हुनुभयो । प्रिया क्षेत्रीले ४२ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो ।
महिला र पुरुष प्रथम, दोस्रो र तेस्रोले क्रमश: ६० हजार, ४० हजार, ३० हजार रुपियाँ, मेडल र ट्रफि पुरस्कार पाउनुभयो । विजेतालाई धरान उपमहानगरपालिकाको कार्यावाहक प्रमुख आइन्द्र विक्रम बेघा, धरान १८ को वडाध्यक्ष प्रविन राई सहित गायकार राजु लामाले पुरस्कार प्रदान गर्नुभयो ।
यसैगरी, अन्डर १६ उमेर समूहमा पुरुषतर्फ जीवन हाङ प्रथम, ओसन राई दोस्रो र हिमाल राई तेस्रो हुनुभयो । महिलातर्फ जुही राई प्रथम जुलि राई दोस्रो र सिम्रन बर्देवा तेस्रो हुनुभएको थियो ।
भेट्रान पुरुषतर्फ सुदिप प्रधान प्रथम, विजय कुमार राई दोस्रो र रेशम लिम्बू तेस्रो हुनुभयो । भेट्रान महिलातर्फ प्रतिमा राई प्रथम, जमुना लिम्बू दोस्रो र कल्पना तामाङ तेस्रो हुनुभएको थियो ।
अन्डर १६, भेट्रानलगायत प्रतिस्पर्धामा प्रथम, दोस्रो र तेस्रो विजेतालाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपियाँसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।
ह्विलचेयरतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपियाँ, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । साथै सुपर भेट्रान विजेता तथा उपविजेताले गिफ्ट भौचर प्राप्त गर्नुभएको थियो ।
दौड पुतली लाइनदेखि सुरु भई देशी लाइन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चोक, हात्तीसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल , जिरो प्वाइन्ट, जानकी चोक, धरान रङ्गशाला, गणेशमान चोक, पानी टेङ्की, कल्याण चोक, मङ्गलबारे, रत्न चोक, बुद्ध चोक, दुर्गा चोक हुँदै पुतली लाइन, भानुचोकमा पुगेर सकिएको थियो ।