शंकर केसी
शारदा (सल्यान), फागुन ९ गते । सल्यान सदरमुकाम खलङ्गास्थित लुहापिङमा शनिबार मतदान केन्द्रको एउटा दृश्य देखियो- उम्मेदवारका प्रतिनिधि आ-आफ्नो स्थानमा थिए, मतदाताहरू शान्तिपूर्वक लाइनमा बसेर मतदान गरिरहेका थिए। त्यही समयमा केन्द्रबाहिर एउटा समूहले होहल्ला सुरु गर्यो। केहीबेर वातावरण तनावग्रस्त बने पनि सुरक्षाकर्मीले तत्काल स्थिति नियन्त्रणमा लिए।
यो कुनै वास्तविक घटना नभई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन गरिएको ‘नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास’ थियो। अभ्यासमा मतदान प्रक्रिया, सुरक्षाको तहगत व्यवस्थापन र सम्भावित जोखिमको सामना गर्ने तरिका व्यावहारिक रूपमा प्रदर्शन गरिएको थियो।
मतदातालाई सुरक्षित रूपमा मतदान गराउने, बदर मत घटाउने र मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउने विषयमा अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकृत धीरेन्द्र भण्डारीले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेम केसीका अनुसार निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई अभ्यस्त बनाउन यो अभ्यास आयोजना गरिएको हो। अभ्यासमा मतदान केन्द्रमा हुलदङ्गा भएमा पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी बल र अन्तिम विकल्पका रूपमा नेपाली सेनाले अग्रभाग सम्हाल्ने गरी तीनवटै सुरक्षा निकायको समन्वय देखाइएको थियो।
अभ्यासमा मुख्य निर्वाचन अधिकृत प्रह्लादकुमार योगी, प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा, प्रमुख सेनानी शिवनारायण श्रेष्ठसहित सरोकारवाला निकायका प्रमुखहरूको सहभागिता थियो। निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन सुरक्षा निकायबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले यो अभ्यास गरिएको जनाइएको छ।