• ७ मंसिर २०८१, शुक्रबार

यू–२० साफ च्याम्पियनसिप टोलीको घोषणा

blog

प्रशिक्षणमा रहेका यू–२० टोलीका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, साउन २ गते । भारतको भुवनेश्वरमा जुलाई २५ देखि आयोजना हुन लागेको यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) २३ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरिएको छ ।

टोलीका प्रशिक्षक मेघराज केसीले सोमबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम २३ जना खेलाडीको नाम घोषणा गर्नुभएको हो । नेपालले च्याम्पियनसिपमा उपाधि चुम्ने लक्ष्य सहित तयारी गरेको प्रशिक्षक केसीले दावी गर्नुभएको छ । च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता रहनेछ । 

नेपालले च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले जुलाई २५ तारिख माल्दिभ्सको सामना गर्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका रहेको छ । नेपालले भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ तारिख खेल्नेछ । राउण्ड रोविन लिगका आधारमा खेलिने प्रतियोगिताका शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । फाइनल खेल अगस्ट ५ मा हुनेछ ।

नेपाली टोलीको गोलरक्षकमा ईश्वर गुरुङ, उनेस चौधरी र जियारत सेख, रक्षकहरुमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा र अभिषेक वाइबा हुनुहुन्छ । 

यसैगरी मिडफिल्डरहरुमा दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिसरत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी र आयुश घलान हुनुहुन्छ । स्ट्राइकरहरुमा दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी हुनुहुन्छ ।