• १३ माघ २०८२, मङ्गलबार

चुनौतीको घेरामा पूर्वप्रम नेपाल

blog

रोजगारी सिर्जना, कृषि, शिक्षा, स्वास्थ्यमा सुधार जस्ता विकासका योजना घोषणापत्रमा समेटेर उम्मेदवार मतदातामाझ पुगे पनि मतदाता भने अझै पर्ख र हेरको स्थितिमा छन् । उम्मेदवारका लोभलाग्दा नारामा मतदाताले कति विश्वास गर्छन् फागुन २१ को नतिजाले मात्रै प्रस्ट पार्ने छ ।

प्रवीणकुमार शर्मा

चन्द्रपुर (रौतहट), माघ १३ गते । नेपाली कांग्रेससहित प्रमुख राजनीतिक दलले गठबन्धन नगरी आफ्नै उम्मेदवार उठाएपछि रौतहट क्षेत्र नं. १ मा कडा प्रतिस्पर्धा हुने भएको छ । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेपाली कांग्रेसबाट अनिलकुमार झा, नेकपा (एमाले) बाट अजयकुमार गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजेशकुमार चौधरी, जनता समाजवादी पार्टी नेपालबाट योगेन्द्र यादवसहित ३९ जनाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै स्वतन्त्र उम्मेदवार २० जना हुनुहुन्छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनका कारण सजिलै जित हासिल गर्नुभएका नेपाललाई यस पटक भने सहज देखिँदैन ।

 २०७९ सालमा एमालेका उम्मेदवार गुप्तालाई छ हजार छ सय मतान्तरले पराजित गर्दै तत्कालीन नेकपा (एस) का उम्मेदवार नेपाल तेस्रो पटक यो क्षेत्रबाट सांसद निर्वाचित हुनुभएको थियो । पूर्वप्रधानमन्त्री नेपाल आमनिर्वाचन २०५६, संविधान सभा निर्वाचन २०७० र प्रतिनिधि सभा निर्वाचन २०७९ गरी तीन पटक यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । 

आसन्न निर्वाचनमा कुनै दलको समर्थन नरहे पनि यस क्षेत्रमा साबिकको नेकपा (एस) र नेकपा (माओवादी केन्द्र) दुवैको सङ्गठन बलियो रहेको, स्थानीय तीन वटा पालिकाका प्रमुख नेपाली कम्युनिस्ट पार्टीको रहेको र ४१ वडामध्ये २९ वटा वडाध्यक्ष नेपाली कम्युनिस्ट पार्टीकै रहेकाले जित्ने बलियो आधार रहेको पूर्वप्रधानमन्त्री नेपालको दाबी छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसँगै ९३ जनाविरुद्ध २०८२ जेठ २२ मा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेपछि उहाँको सांसद पद स्वतः निलम्बन भएको थियो । सांसद पद निलम्बन भएका कारण यहाँका जनताको समस्या सदनमार्फत सरकारसमक्ष पु¥याउन सक्नुभएको थिएन । अहिले उहाँ निर्वाचित हुँदा पनि मुद्दामा सफाइ नपाएसम्म निलम्बनकै अवस्थामा रहनुहुने छ । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा उहाँको उम्मेदवारीले स्थानीय नेता तथा कार्यकर्तामाझ निराशा छाएको छ ।

नेपाली कांग्रेसले उम्मेदवारका रूपमा अघि सारेका झाले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा राजपाबाट उम्मेदवार भई नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवलाई पाँच हजार ५९८ मतले पराजित गर्नुभएको थियो । २०४६ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएका उम्मेदवार झा २०६४ सालमा समानुपातिकतर्फबाट संविधान सभा सदस्य हुनुभएको थियो भने दुई पटक सङ्घीय सरकारमा मन्त्री रहिसक्नुभएको छ । उम्मेदवारी दर्ताको दिन आफैँ अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी छाडेर कांग्रेसबाट उम्मेदवारी दिएका झाले आफू जित्ने आधार बलियो रहेको बताउनुभयो । यस क्षेत्रका दुई पालिका प्रमुखदेखि मधेश प्रदेशका मुख्यमन्त्री कांग्रेसको भएको, दुवै प्रदेश सभा सदस्य कांग्रेसकै निर्वाचित रहनुभएका र छिमेकी जिल्ला सर्लाही–४ बाट कांग्रेसका सभापति गगनकुमार थापा आफैँ उम्मेदवार हुनुभएकाले त्यसको प्रभाव यस क्षेत्रमा समेत पर्ने बताउँदै उहाँले कांग्रेसले नै जित्ने दाबी गर्नुभयो । जेनजीका माग सम्बोधनदेखि लिएर यस क्षेत्रका जनताको समस्या समाधानका लागि कांग्रेस अग्रपङ्क्तिमा उभिएको उहाँको दाबी छ ।

त्यस्तै एमालेका उम्मेदवार गुप्ता सङ्गठन क्षेत्रमा बलियो मानिनुहुन्छ । मधेशकेन्द्रित दलबाट राजनीति सुरु गरेका गुप्ताको राजनीतिक गतिविधि जनता केन्द्रित रहने गरेकाले सधैँ बलियो र स्थापित नेताका रूपमा चिनिनुहुन्छ । दुई पटक गौर नगरपालिकाको प्रमुख रहिसक्नुभएका गुप्ता २०७० सालमा फोरम लोकतान्त्रिकबाट उम्मेदवार हुँदा ३३८ मतको झिनो अन्तरले पूर्वप्रधानमन्त्री नेपालसँग पराजित हुनुभएको थियो । २०७९ सालको निर्वाचनमा कांग्रेससँगको गठबन्धनका कारण आफू पराजित भएको बताउँदै उहाँले यस पटक आफूलाई कसैले रोक्न नसक्ने बताउनुभयो । अरू सबै उम्मेदवार परीक्षण भइसकेकाले आफू नै मतदातासमक्ष सर्वाधिक लोकप्रिय रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो । 

२०७९ सालको प्रदेश सभा निर्वाचनमा रौतहट–१(ख) बाट स्वतन्त्र प्रदेश सभा सदस्यको उम्मेदवार रहेका चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा होमिनुभएको छ । एक हजार ८९ मतले मात्र त्यसबेला प्रदेश सभा निर्वाचनमा पराजित भएका ५४ वर्षीय चौधरी आफूलाई जेनजीको साथ र सहयोगका साथै नयाँ नेपाल बनाउने अभियानमा सबैको सहयोग रहने बताउनुहुन्छ । जसपा नेपालका उम्मेदवार तथा मधेश प्रदेश सरकारका पूर्वमन्त्री यादव आफू बलियो एवं सशक्त उम्मेदवार रहेको बताउनुहुन्छ । २०७९ सालको प्रदेश सभा निर्वाचनमा पाँच हजार ७२९ मत ल्याई तेस्रो स्थान हासिल गर्नुभएका ४९ वर्षीय उम्मेदवार यादव आफू सदैव जनताको साथमा रहेकाले जनताले यसपालि आफूलाई पत्याउने विश्वास व्यक्त गर्नुहुन्छ । रौतहट क्षेत्र नम्बर १ मा एक लाख आठ हजार ७२६ जना मतदाता कायम भएका छन् । यो निर्वाचन क्षेत्रमा ६७ वटा मतदान स्थल तथा १३२ वटा मतदान केन्द्र कायम गरिएको छ । बागमती र लालबकैया नदीको बाढीले प्रभावित रहँदै आएको यो क्षेत्रलाई बाढीबाट बचाउन विशेष योजना, रोजगारी सिर्जना, कृषि, शिक्षा, स्वास्थ्यमा सुधारसहितका योजना ल्याउनुका साथै सदरमुकामस्थित गौर राइस मिलको खेलमैदान सार्वजनिकीकरण गरी नयाँ पुस्तालाई लोभ्याउने नारा प्रायः सबै उम्मेदवारले घोषणापत्रमा समेटेका छन् । स्थानीय मतदाता भने अझै पर्ख र हेरको स्थितिमा छन् । उम्मेदवारका लोभलाग्दा नारामा मतदाताले भने कति विश्वास गर्छन् वा कुन उम्मेदवारलाई पत्याउँछन् त्यसका लागि भने फागुन २१ गतेको व्यग्र प्रतीक्षा रहने छ ।