• १३ माघ २०८२, मङ्गलबार

अंशुवर्मा माविलाई राष्ट्रपति रनिङ् शिल्डको उपाधि

blog

इमान सिं राना

रामपुर (पाल्पा), माघ १३ गते । निस्दी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताको उपाधि अंशुवर्मा माध्यमिक विद्यालय निस्दी–२ ले जितेको छ । प्रतियोगिता  अन्तर्गतका खेलहरुमा उत्कृष्ट स्थान हासिल गर्दै सातौं संस्करणको उपाधि अंशुवर्माले जितेको हो ।

एथलेटिक्स, भलिबल, कबड्डी अर्न्तगतका १८ विधामा भएको प्रतिस्पर्धामा ५ स्वर्ण, ३ रजत र १ काँस्यसहित ९ पदकका साथ अंशुवर्माले प्रथम स्थान सहित रनिङ्ग शिल्ड हात पारेको  हो । 

प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ८ काँस्यसहित १३ पदकका साथ गौरीशङ्कर मावि निस्दी–४ द्वितीय भएको छ । त्यस्तै जनता मावि निस्दी– ५ गल्धा ३  स्वर्ण, १ रजत र २ काँस्य पदकसहित तृतीय भएको छ ।

पालिकाभित्रका १२ सामुदायिक विद्यालयका छात्रछात्राहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेको शिक्षा शाखा प्रमुख नरबहादुर थापाले बताउनुभयो । प्रतियोगिताको विजेता विद्यालय तथा विद्यार्थी मध्ये उपाधि विजेताले रनिङ् शिल्ड, ट्रफी, मेडल र प्रमाण पत्रसहित नगद, द्वितीय र तृतीय हुनेले ट्रफी, पदक र प्रमाण पत्रसहित नगद प्राप्त गरेको छ ।

गाउँपालिकाले विजेता विद्यालयहरु मध्ये प्रथम, द्वितीय र तृतीय हुने क्रमशः ८ हजार, ५ हजार ३३५ र २ हजार ६६५ रुपियाँ पुरस्कार प्रदान गरेको थियो । सहभागी १२ वटै विद्यालयलाई यातायात खर्च वापत नगद  १२/१२ हजार रुपियाँ प्रदान गरेको पालिकाले जनाएको छ । 

निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तीरन कुमारी श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत पूर्णबहादुर चितौरेले पुरस्कार प्रदान गर्नुभएको थियो । 

पुरस्कार वितरण गर्दै गाउँपालिका अध्यक्ष सारुले खेल हारजितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि अपरिहार्य रहेको बताउनुभयो । गत शनिबार देखि निस्दी–४ मित्याल, झ्याल्टुङ खेल मैदानमा प्रतियोगिता भएको थियो ।