• ९ फागुन २०८२, शनिबार

हरियो विद्रोह (कविता)

blog

अल्छे, घामको पहेँलो सिक्का 

प्रकृतिको मृत्युघन्टी छामिरहेको छ 

वायुमण्डलको ओजोन तहको ज्वरो

थर्मोमिटरमा नापिरहेको छ

कपालमा हरियाली सिउरेर 

हाँस्ने प्रकृति

शीतलहरी लागेको विधवा झैँ 

टाउकामा कालो कफन बेरेर 

धूमिल अनुहारमा गुनासा पोख्न 

चौतारीमा भेला भएका छन् ।

नदीहरू–

मुहान सुक्दै 

कार्बनको कोलाहलभित्र पानी छैन 

नदीहरूमा पानी बगेका छैनन्

हाम्रा आँसुहरू बगेका हुन् । 


पहाडहरू–

बेतोडको कीटनाशकले 

हरियाली केश झरेका पातका गुच्छा बनेका छन् 

काइँयोले कोर्न नसकेर उदासीका लट्टा परेका छन् 

मरुभूमिका अस्थिपञ्जरझैँ

जर्जर गाउँहरू

उदास बेँसीहरू

रित्ता देउरालीहरू

रुखा बारीहरू रोगाएका छन् 

रातमा हामी निष्पट्ट मौनताको शीत बनेर चुहिरहन्छौँ ।

तराई–

छातीमा चलेका डोजर

खोस्रिन्छ हाम्रा आन्द्राभुँडी 

निचोर्छ धोती झैँ सिमसार तालतलैया

सिमेन्टको खण्डहर निर्जीव विस्तारले 

दुर्गन्धित नालाहरू अजिङ्गर झैँ घिस्रिरहेका छन् ।


रुखहरू–

पात–हाँगा काटेर सुकेका डमरु झैँ 

दमले ग्रस्त बुढो रुखलाई 

निर्ममतापूर्वक दाँत गाडिरहेका छन्– आरा÷बन्चरोले

मेटिरहेका छन् जीवनका धर्सा ।

पशुहरू–

सक्दैनौँ खेल्न

आगोले निलेका छन् वासस्थान

पातला तुँवालोको झिल्लीले घेरेर

सूक्ष्मतम परमाणु डरले

अचेल पात हल्लँदा पनि 

सुपरनोभा विस्फोट भएझैँ लाग्छ ।

चराहरू–

हामी आदिवासी चरा 

मृत्युको वेग मारिरहेका छौँ 

समय हराएको यायावर झैँ

अलमलिएर यताउता टोलाएका छौँ ।

शङ्खेकिराहरू–

घिस्रँदै बाटोमा

मृत्युको जुक्ताले कुल्चन्छ कि ?

आँखाभरि त्रसित सपना लिएर

शरीरबाट विषाक्त म्युकस झारिरहेका छौँ ।

अन्त्यमा गरे

हरित अवशेषहरूले 

हरियो विद्रोह ।