• २ असार २०८१, आइतबार

गोरखामा करिब २७ किलोमिटर सडक कालोपत्रे

blog

नरेन्द्र ढकाल

गोरखा, साउन २ गते । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार बिकास कार्यालयमार्फत जिल्लामा झण्डै २७ किलोमिटर सडक कालोपत्रे गरिएको छ । कार्यालयले अहिलेसम्म कुल २६.५ किलोमिटर सडक कालोपत्रेको काम सम्पन्न गरेको हो । 

ढुङ्गागाढे भञ्ज्याङ, बुंकोट, नाम्जुङ घैरुङ मनकामना सडक खण्डमा १२ किलोमिटर कालोपत्रे भएको छ । २०७७ सालबाट सुरु भएको उक्त सडक २०७८ माघ ८ गते सम्पन्न भएको कार्यालयका इन्जिनिर अजय श्रेष्ठले जानकारी दिनुभयो । ३७ करोड ६८ लाख २१ हजार रुपियाँ लागत अनुमान गरिएको सो सडक सम्पन्न गर्दासम्म लागत केही बढेर ३८ करोड ५५ लाख ८९ हजार पुगेको उहाँले बताउनुभयो ।

यसैगरी गोरखा हस्पिटल बराह फिनाम सडक पनि कालोपत्रे भएको छ । ९ करोड ८६ लाख ७१ हजार रुपियाँमा ठेक्का सम्झौता भएको ३.५ किलोमिटर लामो सो सडक ८ करोड ७६ लाख ५० हजार लागत निर्माण भएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । निर्माणमा ढिलाई भएका कारण लामो समय चर्चामा रहेको सडक भर्खरै कालोपत्रे सम्पन्न भएको छ ।

यसैगरी सभाचौतारो आँपपीपल अस्पताल आँपपीपल सडक खण्डमा २ किलोमिटर कालोपत्रे भएको छ । ४ करोड २० लाख ४१ हजार रुपियाँमा आँपपीपल भञ्ज्याङदेखि अस्पताल सम्मको उक्त सडक स्तरोन्नति भएको कार्यालयले जनाएको छ । 

‘टोटलमा ३ हजार ५०० मिटरको कन्ट्याक्ट हो । २ किलोमिटर कालोपत्रे र डेढ किलोमिटरमा ग्राभेल गर्ने जिम्मा उहाँहरुको हो,’ साइड इन्चार्ज सुनिल कुस्वाहले भन्नुभयो, ‘बाँकी १५ सय मिटरमा नाली बनाउने काम मात्र बाँकी छ, ग्राभेल हालिसक्नु भएको छ ।’

यसैगरी गत वर्षबाट कालोपत्रे थालिएको चोरकाटे छोप्राक चित्रे पोखरी सडकको काम पनि यस वर्ष सम्पन्न भएको छ । ९ किलोमिटर लामो उक्त सडक कालोपत्रे गर्न २४ करोड १७ लाख ५५ हजार रुपियाँमा ठेक्का सम्झौता गरिएको थियो । 

केही काम थप भएपछि २४ लाख ५२ लाख ३ हजार रुपियाँ ठेकेदारलाई भुक्तानी गरिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो । ‘यो खण्डको धेरै काम अघिल्लो आर्थिक वर्षमा भएको थियो,’ उहाँले भन्नुभयो, ‘काम सम्पन्न यही वर्षमा भएकाले भुक्तानी अहिले नै गएको हो ।’

नारेश्वर पडिणी चौतारा निबेल ताकुकोट सडकमा भने कामको प्रगति सुस्त देखिएको छ । ‘पहिलो प्याकेज १० किलोमिटरमा केही काम भएको छ । तर कालोपत्रे गर्ने तहसम्म पुगेको छैन,’ उहाँले भन्नुभयो, ‘दोस्रो प्याकेजको १४ किलोमिटर ठेक्का नै ढिला लागेको हो । त्यहाँ काम धेरै भएको छैन ।’

गण्डकी प्रदेशले सञ्चालन गरेको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तर्गत ४ वटा सडक स्तरोन्नतिका लागि जिल्लामा बजेट प्राप्त भएको थियो । सोमध्ये ढुङ्गागाढे भञ्ज्याङ, बुंकोट, नाम्जुङ घैरुङ मनकामना सडक कालोपत्रे भएको छ । बारपाक लाप्राक सडक ग्राभेल र  अजिरकोट गाउँपालिकाको ढोडेनी देखि भच्चेक ग्राभेल एवं विभिन्न ठाउँ ढलान समेत गरिएको छ । ‘यी दुई सडकको काम अन्तिम चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो ।