काठमाडौं, साउन २ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले आगामी दुई वर्षभित्र भूमिसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान हुने बताउनुभएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले सरकार मुक्त कमैया, हरुवाचरुवालगायत जग्गाहीनलाई जमिनको मालिक बनाउने कार्यमा हामी दत्तचित्त भएर लागेको दाबी गर्नुभयो ।
भूमिहीनलाई उच्च प्राथमिकताका साथ अभियानको रुपमा कार्यक्रम सञ्चालन गरी आठ महिनाको समयावधिमा करिब ४९ हजार घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिसकेको उहाँको भनाइ छ ।
मन्त्री श्रेष्ठले वर्तमान सरकार उपलब्ध साधनस्राेत, तथा आर्थिक विकासको प्रतिफलको न्यायोचित वितरण गर्ने, भूमिमा रहेको दोहोरो स्वामित्वको अन्त्य गर्ने काममा लागिपरेको बताउनुभयो ।
उहाँले सरकार विकास तथा सीमान्तकृत, पिछडिएको वर्गको हीतलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने, विकासका दृष्टिले पछि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, समावेशी, गुणस्तरीय र दिगो विकास हासिल गर्न नीतिअनुरुप अघि बढिरहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री श्रेष्ठले राज्यको उद्देश्य नागरिकको जिउ, धन, समानता र स्वतन्त्रताको संरक्षण गरी कानुनको शासन, मौलिक हक तथा मानव अधिकारका मूल्य र मान्यता, लैङ्गिक समानता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था गर्दै लोककल्याण्कारी राज्य स्थापना गर्ने बताउनुभयो ।