• १३ साउन २०८१, आइतबार

नवविवाहित महिलाले मनाउने मधुश्रावणी पर्व सुरु

blog

मधुश्रावणी पूजा गर्दै नवविवाहिता महिला ।

माला कर्ण
कल्याणपुर, साउन २ गते ।
मिथिलाञ्चल क्षेत्रका नवविवाहित महिलाहरुले मनाउने मधुश्रावणी पर्व सोमबारदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्व विशेष गरी ब्राह्मण, कायस्थ र सोनार जातिका नवविवाहिता महिलाले मनाउने गर्छन् ।

यस पर्वमा महिलाहरुले एक दिन पहिले नै टिपेर ल्याएको फूलले विषहाराको (नागनागिन) प्रतिमा स्थापना गरी पूजा अर्चना गर्ने गर्छन् । पर्व मनाउने महिलाले १५ दिनसम्म चोखो भई बस्नुपर्ने हुन्छ । नुन, लसुन र प्याज  खान नपाइने र अरु नियम पनि पालना गर्नुपर्ने भएकाले महिलाका लागि यो पर्व कठोर मानिन्छ ।

यो पर्वको अवधिभर महिलाहरुले माइतीबाट ल्याएको अन्नमात्र खाने परम्परा छ भने लुगा पनि माइतीले नै दिएको लगाउनुपर्छ । पर्व सुरु हुनुभन्दा एक दिन पहिलै पूजा सामग्री, अन्न, वस्त्रलगायतका सामग्री माइतीले कोसेली (भार) को रुपमा पठाउँछन् ।

पूजाको बेला महिलाले  नाग नागिन, शिव पार्वतीका विभिन्न समयमा भएको लीलाहरुको वर्णनको कथाहरु सुन्ने गर्छन् । यसो गर्दा श्रीमानको आयु बढ्ने सर्पदंशबाट मुक्ति हुने जनविश्वास रहेको व्रतातु  बबली कर्णले बताउनुभयो ।

साउनमा सर्पको बिगबिगी बढ्ने भएकाले सर्प (नागनागिन) को पूजा गर्नाले श्रीमान्माथि कुनै प्रकारको सङ्कट नआउने विश्वासका कारण नवविवाहित महिलाहरुले पूजा गर्ने गर्छन् ।

त्यस्तै, यस पर्वको अन्तिम दिन अर्थात् मधुश्रावती भनिने १५ औँ दिन बलिरहेको दियो (टेमी)ले दाग्ने प्रचलन रहेको कर्णले बताउनुभयो ।

यस प्रथाको विरोध हुँदै आए पनि अन्त्य हुन भने सकेको छैन । बत्तीले जलाउनाले श्रीमानको आयु वृद्धि हुनुका साथै कल्याण हुने जनविश्वास रहिआएको खडक नगरपालिका ८ की पुनम कर्णले बताउनुभयो ।