• ७ फागुन २०८२, बिहिबार

हात्तीको आक्रमणबाट महिला घाइते

blog

विष्णुप्रसाद पोखरेल
दमक, फागुन ७ गते ।
झापाको बाह्रदशी गाउँपालिका–१, बोक्राझारीमा बिहीबार बिहान जङ्गली हात्तीको आक्रमणबाट परेर एक महिला गम्भीर घाइते हुनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान करिब ५ः३० बजेतिरको समयमा स्थानीय लखनलाल राजवंशीकी श्रीमती ५० वर्षीया लीला राजवंशीलाई घरमा नै हात्तीले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आफ्नै बनाउँदै गरेको पक्की घरमा बिहान उठेर पानी हाल्ने क्रममा एक्कासि हात्तीले आक्रमणमा गरेको प्रारम्भिक रूपमा जानकारी प्राप्त भएको छ । उहाँका अनुसार नजिकै रहेको लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट उक्त हात्ती आएको हो ।

हात्तीको आक्रमणमा राजवंशीको शरीरका विभिन्न भागमा चोट लागेको छ । परिवारका सदस्यहरू र स्थानीयले तत्काल उद्धार गरी उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोड उपचारका लागि ल्याएको र हाल उपचार भइरहेको खड्काले बताउनुभयो । यस क्षेत्र आसपास पछिल्लो समय जङ्गली हात्तीको आवतजावत बढ्दै गएको स्थानीयहरूले बताएका छन् ।