प्रजातन्त्र अथवा लोकतन्त्रको आधारस्तम्भ निर्वाचन हो । फागुन २१ गते देशमा प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यो निर्वाचन अरू बेला हुने निर्वाचन जस्तो नभएर विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो । गत भदौ २३ र २४ गते भएको जेनजी अर्थात् नवपुस्ताको आन्दोलनको भावना र चाहनालाई संस्थागत गर्न यो निर्वाचन हुन लागेको हो । यस सन्दर्भमा सात वटै प्रदेशका मतदाताले आउँदो निर्वाचन र नवपुस्ताको चाहनाबारे व्यक्त गर्नुभएको धारणा यहाँ प्रस्तुत गरिएको छ ।
लोकतान्त्रिक यात्राको कडी
आकृति रानी फुयाँल
मानव अधिकार रक्षक, विराटनगर
निरङ्कुश राणा शासनको अन्त्यसँगै २००७ साल फागुन ७ गते स्थापना भएको प्रजातन्त्रले नेपाली नागरिकलाई मौलिक अधिकारको आधार प्रदान ग¥यो । त्यसयता लोकतान्त्रिक अभ्यास निरन्तर विस्तार हुँदै आएको छ । २०८२ सालको जेनजी आन्दोलनपछि फागुन २१ गते हुने निर्वाचन यसै लोकतान्त्रिक यात्राको महìवपूर्ण कडी हो ।
यो निर्वाचन समावेशी, समान र पहुँचयुक्त हुनु अत्यन्त आवश्यक छ । अपाङ्गता भएका मतदाताले स्वतन्त्र, सुरक्षित र गोप्य रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नु राज्यको दायित्व हो । मतदान केन्द्रहरू पहुँचयुक्तताको विश्वव्यापी मापदण्ड तथा ‘पहुँचयुक्त भौतिक संरचना र सञ्चार सेवा निर्देशिका, २०६९’ अनुरूप व्यवस्थित गरिनु जरुरी छ । साथै मतदाता शिक्षा कार्यक्रम सबै प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सहज, सरल र सहभागी हुन सक्ने ढङ्गले सञ्चालन गरिनु पर्छ । यो निर्वाचन समावेशी लोकतन्त्रको वास्तविक परीक्षण हो । त्यसैले अधिकार, सम्मान र समान अवसर सुनिश्चित गर्न ठोस योजना, पर्याप्त बजेट र प्रभावकारी अनुगमन प्रणाली लागु गर्नु अपरिहार्य छ ।
भविष्य निर्माण गर्ने चुनाव
विजय ओझा
सर्वसाधारण, मोरङ
अबको चुनाव केवल सत्ता परिवर्तनको प्रक्रिया मात्र होइन, देशको भविष्यको दिशानिर्देश गर्ने अवसर हुनु पर्छ । चुनाव निष्पक्ष, पारदर्शी र जनताको वास्तविक चाहना पूरा गर्ने हुनु पर्छ । पैसा, प्रभाव र सामाजिक सञ्जालको प्रचारभन्दा पनि योग्यता, निष्ठा र जनउत्तरदायित्वलाई प्राथमिकता दिने चुनाव आजको आवश्यकता हो । निर्वाचित व्यक्तिमा राजनीतिक ज्ञान, कानुनी ज्ञान, अनुभव, स्पष्ट कार्ययोजना, भूराजनीतिक बुझाइ भएको, संविधान, प्रणाली र राज्य सञ्चालनको स्पष्ट बुझाइ राख्ने हुनु पर्छ । राजनीति सेवामूलक जिम्मेवारी भएकाले समाजसेवामा अनुभव भएका, जनताका समस्या बुझेका र समाधान गर्ने क्षमता भएका व्यक्ति नेतृत्वमा आउनु आवश्यक छ ।
कलाकार, टिकटकर, पत्रकार जस्ता व्यक्तिको मुख्य भूमिका आफ्नो क्षेत्रभित्रै समाजलाई योगदान दिनु हो । यसै गरी निर्वाचनका बेला जनताको घरदैलोमा गएर नाटक मञ्चन गर्ने उम्मेदवारबाट जनता जोगिनु पर्छ किनभने कहिल्यै जनताको दुःखसुखमा देखा नपर्ने तर चुनावमा उम्मेदवार भएर आउँदा अनावश्यक नाटक गर्ने व्यक्तिले भोलि जनताको सेवा गर्न सक्दैन ।
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ
गङ्गादेवी साह
गृहिणी, धनुषा
निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो । यसले जनतालाई आफ्ना प्रतिनिधि छान्ने अधिकार दिन्छ र शासनप्रणालीलाई वैधता प्रदान गर्छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले युवाको आवाज बलियोसँग सुने जस्तो लाग्यो । रोजगारी, सुशासन, पारदर्शिता र सबैलाई समान अवसर चाहिन्छ भनेर उनीहरू सडकमा उत्रिएका हुन् । सामाजिक सञ्जालबाट सङ्गठित भएर आन्दोलन गर्नुले युवा सचेत छन् भन्ने देखाउँछ तर आन्दोलन शान्तिपूर्ण र जिम्मेवार हुनु पर्छ भन्ने आमचाहना छ । मिलेर समाधान खोजे मात्रै दीर्घकालीन समाधान सम्भव हुन्छ । परिवर्तन त आवश्यक छ तर आफ्नै देशको भूगोल, इतिहास र वास्तविकता बिर्सेर हतारमा निर्णय गर्नु ठिक हुँदैन ।
देशमा नयाँ उत्साह
महेश साह
मजदुर, महोत्तरी
फागुन २१ गते हुने निर्वाचनले देशमा नयाँ आशा र उत्साह थपेको छ । यस निर्वाचनमार्फत देशले इमानदार, उत्तरदायी र दूरदर्शी नेतृत्व पाउने विश्वास गरिएको छ । विगतमा विभेद र असमानताको अनुभूति गरेका मधेशी समुदायले यस पटक समावेशी र न्यायपूर्ण सरकारको अपेक्षा गरेका छन् । भ्रष्टाचाररहित शासन, समान अधिकार र अवसर सुनिश्चित गर्ने प्रतिबद्धतासहितको नेतृत्व आउनुपर्ने अपेक्षा छ । यो परिवर्तनले युवालाई स्वदेशमै भविष्य देखाउने, रोजगारी सिर्जना गर्ने र सबै नागरिकलाई समान रूपमा सम्मान गर्ने वातावरण बनाउने विश्वास छ । निर्वाचनलाई नयाँ युगको सुरुवातका रूपमा हेरिरहेका छौँ ।
जेनजी आन्दोलनपछि जनतामा नयाँ आशा पलाएको छ । निर्वाचनपछि आउने नयाँ सरकारले रोजगारी सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नु पर्छ । स्वदेशमै सम्मानजनक कामको वातावरण बने मात्र देश समृद्ध बन्छ । श्रमिकको पीडा बुझेर सरकारले ठोस कदम चाल्नु पर्छ ।
युवामैत्री कानुन बन्नु पर्छ
यादवप्रसाद अधिकारी
व्यवसायी, मकवानपुर
प्रजातन्त्रले नै जनताका छोराछोरीलाई देशको उच्च पदमा पु¥याएको छ । राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख जस्ता देशको प्रमुख पदमा महिला पनि पुगेका छन् । प्रजातन्त्रकै जगमा स्थापित गणतन्त्र र त्यसले ल्याएको समावेशी चरित्रको संवैधानिक व्यवस्थाले हरेक क्षेत्रमा पछाडि परेका र पारिएका समुदाय तथा जातजातिका लागि समेत समावेशी ढङ्गको नेतृत्व स्थापनामा ठुलो सहयोग पुगेको छ । गाउँ गाउँमा शिक्षाको विकास, स्वास्थ्यसेवाको विस्तारलगायत कुराले आर्थिक, सामाजिक विकास भएको छ ।
प्रजातन्त्र प्राप्तिपछिका राजनीतिक घटनाक्रम र त्यसले ल्याएका उपलब्धिका कारण देशमा संविधान सभाले संविधान बनाएको छ । यसै सन्दर्भमा आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । साना व्यवसाय गर्ने र स्वदेशमै रहन चाहनेका लागि फागुन २१ गते एउटा उत्सव बन्नु पर्छ । चुनिएर आउने संसद्ले युवामैत्री र स्वरोजगारीमैत्री कानुन निर्माण गर्नु पर्छ । यसले आर्थिक वृद्धि र स्वदेशमै श्रम गर्ने वातावरण बन्न मद्दत गर्ने छ ।
रोजगारी सिर्जना गर्नु पर्छ
लवाङ दोर्जे लामा
कराँते प्रशिक्षक, मकवानपुर
प्रजातन्त्र प्राप्त भएपछि नेपालमा राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद क्षेत्रको विकास भएको हो । यसैको जगमा टेकेर नेपाली जनताले गरेको सङ्घर्ष र बलिदानीबाट नयाँ संविधान पनि प्राप्त गरेका छौँ । नयाँ संविधानको कार्यान्वयनसँगै देशमा सङ्घीयताको असल अभ्यास सुरु भएको छ । यो तथ्य र इतिहासलाई जतिसुकै लामो व्याख्या गरे पनि तोडमोड गर्न सकिँदैन ।
फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ । २०८२ साल भदौ २३ र २४ गते भएको नवयुवाको आन्दोलनपछि उत्पन्न विषम परिस्थितिका कारण देशमा फागुन २१ गते निर्वाचन हुन लागेको हो । देशको जटिल राजनीतिक अवस्थालाई सही मार्गमा ल्याउन निर्वाचनले योगदान गर्ने छ । यो निर्वाचनबाट भदौ २३ र २४ को आन्दोलनको भावना मुखरित हुन्छ । आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणलाई थप बल पु¥याउँछ । विकासलाई तीव्र गतिमा आगाडि बढाउँछ । स्वदेशमै स्वरोजगारी सिर्जना गर्नका लागि आधार तयार गर्छ । यसका लागि चुनिएर आउने सांसद र बन्ने नयाँ सरकारले काम गर्ने छ ।
पुराना मापदण्ड फेरिए
विश्व सिग्देल
विश्लेषक, कास्की
यसपालिको चुनावले नयाँ परिवर्तन र देश विकासको दिशामा एउटा ठोस सङ्केत गर्ने मेरो विश्वास छ । अहिले पुराना मुख्य दल र नयाँ शक्तिबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । मतदाताले उम्मेदवार र पार्टी छान्ने पुराना मापदण्ड (प्यारामिटर) फेरिएका छन् । जनता पुरानो दलीय आबद्धताका आधारमा, आर्थिक प्रलोभनका आधारमा, चर्चाका आधारमा मात्र नभई यथार्थ मनन गरी मतदान गर्ने तहमा पुगेका छन् ।
अहिले वर्ग, जात, भेग जस्ता पक्षले मतदातालाई ठुलो फरक पार्दैनन्, वादहरूको विश्वासबाट पनि जनता माथि उठेको पाएको छु । पहिले परिवारका ज्येष्ठ सदस्यले कसरी, कसलाई मत दिने भन्ने निर्णय हुन्थ्यो, अहिले परिवारको कनिष्ठ सदस्यले निर्णय गर्ने, फरक फरक दल रोज्ने वातावरण निर्माण भएको छ ।
जनताले अहिले सुशासन र चुस्त सेवा प्रवाहको माग गरेको देखिन्छ । मतदाता पुरानो जड मानसिकताबाट मुक्त भइसकेपछि उम्मेदवारले जनताको आकाङ्क्षा सम्बोधन गर्नैपर्ने अवस्था आएको छ । पुराना दल पनि सुध्रिन खोजेको सङ्केत देखिन्छ । प्राकृतिक रूपमा स्वाभाविक तवरले हुने विकासलाई देखाएर मात्र हुने युग अहिले छैन । विगतको काम, इतिहास, अहिलेको प्रतिबद्धता, कार्यशैली र भावी योजनालाई जनताले मिहिन ढङ्गले मूल्याङ्कन गरेका छन् । पछिल्ला १० वर्षमा नागरिकमा उत्साहवर्धक आलोचनात्मक चेत विकास भएको छ । देशले निकास पाउने बाटो चुनाव नै हो ।
पद्धति अनुसरण गरौँ
भगवती पहारी
अधिवक्ता, कास्की
फागुन २१ गते हुन लागेको चुनाव सामान्य चुनाव होइन, विषम परिवेशमा हुन लागेको चुनाव हो । भदौमा भएको एउटा आन्दोलनसँगै ठुलो विध्वंसपछि आएको सङ्कटबाट देशलाई पार लगाउन चुनाव जरुरी छ । नेपालीमा परिवर्तनको ठुलो आकाङ्क्षा छ, जनताको आव्रmोशको तह निकै ठुलो छ तर आव्रmोशको प्रस्फुटन गलत तवरले पनि भयो कि भन्ने मलाई लाग्छ । नेपाली जनताले राजनीतिक परिवर्तनपछि परिवर्तनगामी शक्तिलाई साथ दिँदै, अनुमोदन गर्दै आएको इतिहास छ । २०४६ सालपछि नेपाली कांग्रेस, एमाले, दोस्रो जनआन्दोलनपछि तत्कालीन नेकपा (माओवादी) लाई ठुलो जनमत दिएको देखिन्छ । अहिले नयाँ शक्तिप्रति जनताका केही अपेक्षा छन् ।
नेपालको जनमत यथार्थ अवस्था नै नबझुी विश्वास गर्ने खालको देखिएको थियो । अहिले पनि राजनीतिक शक्तिको इतिहास, उनीहरूको कार्यप्रणाली, भावी योजना हेरेर मूल्याङ्कन गर्ने खालको जनमत निर्माण भइसकेको छैन । एउटा पद्धतिको विकास नभई देश समृद्धिको मार्गमा अघि बढ्न सक्दैन । देशले पद्धति, कानुन, विधि पालना गर्ने र त्यसलाई संस्थागत गर्ने नेतृत्व खोजेको छ । समाजमा रहेका विभिन्न क्षेत्रमा प्रतिभावान्, क्षमतावान् र जनताले विश्वास गरेकालाई राजनीतिमा ल्याउन जरुरी छ । अब पनि आलोचनात्मक चेत नराख्ने, विधि र पद्धतिलाई अङ्गीकार नगर्ने हो भने देशले निकास पाउन सक्दैन । अबको निर्वाचनले देशको संविधानबमोजिमको सरकार निर्माण भई देशवासीका आकाङ्क्षा पूरा गर्ने वातावरण सिर्जना हुनु पर्छ ।
मुलुक समृद्धितर्फ अघि बढ्ने छ
मनिकर कार्की
नागरिक अभियन्ता, बुटवल
नेपाली जनताले प्रजातन्त्रका लागि गरेको बलिदानीकै कारण २००७ सालमा प्रजातन्त्र आयो । त्यसपछि खोसिएको प्रजातन्त्र २०४६ सालमा पुनस्र्थापना भयो । नेपाली जनतामा ठुलो आशा र विश्वास सिर्जना भएको थियो अब देशमा केही हुन्छ भन्ने तर २०४६ सालको राजनीतिक परिवर्तनको छ वर्ष नहुँदै जनताको असन्तुष्टि बढ्दै गयो । सशस्त्र युद्धमार्फत जनताले अर्को परिवर्तनको अपेक्षा गरे । २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट मुलुक सङ्घीय व्यवस्थामा रूपान्तरित भयो । त्यसपछि देशको परिवर्तन र जनताको आर्थिक सुधारका लागि धेरै आन्दोलन भए । धेरै सरकार बने तर कुनै पनि सरकारले परिवर्तन दिलाउन सकेनन् ।
राज्य पुनर्संरचनामार्फत मुलुक परिवर्तनको अपेक्षा जुन गरिएको थियो, त्यसले पनि निकास दिन सकेन । यसले जनतामा अर्को परिवर्तनको आशा बढ्दै गयो । मुलुकले राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकेन । जनताले सम्मानको अनुभूति पनि गर्न पाएनन् । देशमा व्यवस्था मात्रै परिवर्तन भयो, जनताको अवस्थामा परिवर्तन आउन सकेन । अब जेनजी आन्दोलनले मुलुकलाई एउटा मार्गनिर्देश गरेको छ, जसरी २००७ सालदेखि अहिलेसम्म जनताले परिवर्तनका लागि सङ्घर्ष गरे, त्यो अब गर्नु नपरोस् । आशा गरौँ फागुन २१ गते हुने निर्वाचनका माध्यमबाट मुलुक दिगो विकास र समृद्धितर्फ अघि बढ्ने छ । प्रजातन्त्रका लागि जनताले गरेको सङ्घर्ष, थुप्रै नागरिकको त्याग र बलिदान अब खेर नजाओस् ।
सहिदको सपना पूरा होस्
माया गौतम
महिला अधिकारकर्मी, बुटवल
जनताले प्रजातन्त्रका लागि धेरै पटक सङ्घर्ष गरे । नेपाली युवाले देशकै लागि आफ्नो जीवनको आहुति दिए । प्रजातन्त्र आयो, देशमा परिवर्तन हुने छ भन्ने जुन अपेक्षा थियो, त्यो पूरा भएको छैन । नेपाली जनताले गरेको बलिदानी व्यवहारतः अनुभूत गर्न नपाउनु चिन्ताको कुरा हो । राजनीतिक आन्दोलन धेरै भयो, त्यसलाई संस्थागत गर्ने कुरामा मुलुक चुकेको छ । देश अनिश्चयको भुमरीमा फस्ने हो कि भन्ने चिन्ता छ । देशमा भएका कलकारखाना निजीकरणका नाममा बेचिँदा युवा रोजगारीको खोजीमा विदेश पलायन हुनु परेको छ । यसले युवामा ठुलो वितृष्णा जन्माएको छ । देशलाई सही दिशामा ल्याउन दलहरूको काँधमा ठुलो जिम्मेवारी छ । सहिदको सपना पूरा भएको छैन । सहिदका सपना पूरा गर्नेतर्फ अब दलहरू गम्भीर बन्नु जरुरी छ ।
भदौ २३ र २४ गते जुन आन्दोलन भयो, त्यसको मर्म र भावनालाई आत्मसात् गर्दै मुलुकलाई सुधार गर्नेतर्फ अब प्रयत्न होस् । यसैका लागि फागुन २१ गते निर्वाचन हुँदै छ । प्रजातन्त्र दिवसले हामी सबैलाई प्रेरणा मात्रै होइन, हामीमा भएको विकार अन्त्य गरी देशलाई नयाँ शिराबाट अघि बढाउने प्रेरणा प्राप्त होस् ।
जेनजीको आवाजलाई समेट्नु पर्छ
लक्ष्मण कँडेल
व्यवसायी, सुर्खेत
फागुन २१ गते निर्वाचन हुँदै छ । गत भदौ २३ र २४ गते नवयुवा (जेनजी) को आन्दोलनपछि गठन भएको वर्तमान सरकारले गर्न लागेको निर्वाचन एउटा राम्रो अवसर हो । मुलुकमा व्याप्त भ्रष्टाचार, कुशासनविरुद्ध थालिएको आन्दोलनले सत्ता ढलेपछि अब नयाँ जनप्रतिनिधि छान्ने अवसर आएको छ । फागुन २१ गतेको निर्वाचन नै त्यो अवसर हो । यसमा सबै राजनीतिक दलले भाग लिएका छन् । भ्रष्टाचार हटाउने, सुशासन कायम राख्ने, सरकारी सेवा चुस्तदुरुस्त बनाउनुका साथै छिटो प्रवाह गर्नुपर्ने जेनजीको आवाज हो । यो चुनावमा जित्ने उम्मेदवारले यसलाई प्राथमिकता दिएर काम गर्नु पर्छ ।
यसै गरी जुनसुकै दललाई होस्, बहुमत दिनु पर्छ । कुनै एक दलले बहुमत पाएमा पाँच वर्ष स्थिर सरकार बन्छ । त्यो अवधिमा काम गर्न सकेन भने जनताले आफैँ विकल्प खोज्छन् । अहिलेसम्मको अवस्था हेर्दा पाँच वर्ष कुनै पनि सरकारले काम गर्न नसक्दा मुलुक अस्थिर भएको हो, भ्रष्टाचार बढेको हो । विगतको अवस्थालाई हेरेर मतदाताले आफ्नो विवेक प्रयोग गरेर मतदानमा सहभागी हुनु पर्छ । सही जनप्रतिनिधि छनोट गर्ने अवसर आएको छ । यो अवसरलाई खेर नफालौँ । यदि कुनै लोभलालचमा परियो भने फेरि हामीले दुःख पाउनु पर्छ । निर्वाचनलाई सदुपयोग गरौँ ।
देशमै बस्ने वातावरण बनाऊँ
शकुन्तला सापकोटा
सामाजिक सचेतक, सुर्खेत
मुलुकमा भ्रष्टाचार बढेको, कुशासन बढेको भनेर जेनजी आन्दोलन भयो । त्यस आन्दोलनलाई निकास दिनका लागि यही फागुन २१ गते निर्वाचन हुँदै छ । यो निकै महìवपूर्ण उपलब्धि हो, किनकि हामीले सही जनप्रतिनिधि छान्ने मौका पाएका छौँ । जसरी जेनजीले जुन उद्देश्य राखेर आन्दोलन गरे, त्यो उद्देश्य अबको निर्वाचनमा जितेर आउने व्यक्तिले पूरा गर्नु पर्छ । जनताले धेरै दललाई विगतमा देश बनाउने मौका दिएका हुन् तर उनीहरूले त्यो मौकालाई सदुपयोग गर्न सकेनन् । व्यक्तिगत स्वार्थ, भागबन्डा, भ्रष्टाचारमा बिताए । त्यसैको विरोधस्वरूप भदौ २३ र २४ मा आन्दोलन भयो ।
हामीले विगतमा चुनेर पठाएकाले कस्तो काम गरे भनेर आत्मसमीक्षा गर्नु पर्छ । अनि फागुन २१ गतेको निर्वाचनलाई विवेक पु¥याएर प्रतिनिधि छान्नु पर्छ । अब निर्वाचित हुने जनप्रतिनिधि विगतका जस्ता हुनु भएन । भ्रष्टाचार रोक्ने, सेवा प्रवाह सहज बनाउने, सुशासन कायम राख्ने लक्ष्य उसमा हुनु पर्छ । देशभित्र बस्ने वातावरण बनाउनु पर्छ । उद्योग खोलेर देशमै रोजगारी बढाउनु पर्छ । हामी सबैको चाहना समुन्नत नेपाल हो । त्यो यो निर्वाचनबाट सम्भव छ ।
हामी आशावादी छौँ
सरिता जोशी
जेनजी लिडर, कैलाली
जेनजी आन्दोलनपछि चुनावसम्म आइपुग्दा हामी धेरै आशावादी छौँ । मनमा अलिकति शङ्का पनि छ, के हुने हो, कसो हुने हो ? अब आउने नेतृत्वले हाम्रा लागि काम गर्नुहुन्छ वा हुन्न ? भदौ २३ र २४ गते जुन आन्दोलन भयो, जनता जसरी सडकमा ओर्लिए, त्यसले न्याय पाउने हो कि होइन भन्ने एउटा चिन्ता र प्रश्न हाम्रो मनमा छ ।
सायद पहिलेभन्दा अहिलेको निर्वाचनमा युवा सहभागिता बढी छ । त्यसमा पनि सचेत युवाको सहभागिता रहेको छ । त्यही भएर हामी आशावादी छौँ तर हामीले प्रश्न गर्न चाहिँ छोड्नु हुँदैन । यदि हामीले प्रश्न गरेनौँ, नयाँ नेतृत्वलाई प्रश्न गर्न सकेनौँ भने जे परिवर्तनका लागि आउनुभएको छ/आउनुहुन्छ, त्यो नहुन सक्छ । उहाँहरू पनि पहिलेकै नेतृत्व जस्तै नहुनु होला भन्न सकिँदैन । त्यही भएर हामी सर्वसाधारण, जनता, भोटर जो छौँ, हामी सबैले प्रश्न गर्नु पर्छ । यो हाम्रो दायित्व र अधिकार पनि हो ।
परिवर्तनका संवाहक युवा
नन्दराज भट्ट
विशेष क्षमताका व्यक्ति, कैलाली
युवा परिवर्तनका मुख्य संवाहक हुन् । परिवर्तनका लागि युवाले महत्वपूर्ण भूमिका खेल्नु पर्छ भन्ने लाग्छ । जेनजी आन्दोलन हामीले पनि हे¥यौँ, त्यो आन्दोलनले नेपालमा एक किसिमको परिवर्तन ल्यायो । अहिलेको मुख्य चुनौती भनेको एउटा त ‘ब्रेन ड्रेन’ हो । यसले युवा विदेश पलायन भइरहेका छन् । नेपालका ५२ प्रतिशत युवा मतदाता छन् तर त्यसमध्ये २२ प्रतिशत विदेशमा छन् । झन्डै ३० प्रतिशतले मात्रै मतदान गर्न सक्ने अवस्था छ । यो हेर्दा अब हामीले चाहेको परिवर्तन कसरी सम्भव हुन्छ ? भन्ने प्रश्न पनि उठ्छ । युवामा निराशा र कुण्ठा छ । यो देशमा केही हुँदैन भन्ने खालको एउटा भाष्य सिर्जना गरिएको छ । त्यो भाष्यले युवालाई एकदम निरुत्साहित गरेको छ ।
अहिलेसम्म जे जति हिसाबले युवालाई प्रयोग गरियो, त्यो सबै एउटा राजनीतिक भ¥याङका रूपमा प्रयोग भयो । अब राजनीतिमा युवा आउनु पर्छ । राजनीतिक सचेतना युवामा हुनु पर्छ । युवामा आशा जगाउन र केही नयाँ परिवर्तन हुनै पर्छ । समावेशी विकासका लागि युवाको सहभागिता हुनु पर्छ । युवाले केही न केही गर्न सक्छन् । राजनीतिमा युवाको सहभागिता भनेको नीति परिवर्तन मात्र होइन, समग्र विकास पनि हुनु पर्छ ।
प्रस्तुति : खेमराज सापकोटा (कोशी प्रदेश),धीरेन्द्रप्रसाद शाह (मधेश प्रदेश), शिवकुमार रिजाल (बागमती प्रदेश), फडिन्द्र अधिकारी (गण्डकी प्रदेश) छविलाल पाण्डे (लुम्बनी प्रदेश), ललित बसेल (कर्णाली प्रदेश), अविनाश चौधरी (सुदूरपश्चिम प्रदेश)