रमेश विश्वकर्मा
गुल्मी, फागुन ७ गते। यही फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ उम्मेदवार बन्नुभएको छ। गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा कांग्रेसबाट उम्मेदवार बन्नुभएका श्रेष्ठले यस जिल्लाको समग्र विकासका लागि आफूले खाका तयार गरेको बताउनुभएको हो।
तम्घासमा आयोजित पत्रकार भेटघाटमा उहाँले गुल्मीको सम्पूर्ण क्षेत्रको समान किसिमले विकासका गर्न लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो। “यहाँको शैक्षिक विकासका लागि महत्त्वपूर्ण काम गर्ने गरी योजनाको खाका तयार गरेको छु।’’ श्रेष्ठले भन्नुभयो, “स्वास्थ्य, कृषि, पर्यटन र विभिन्न भौतिक पूर्वाधार क्षेत्रको विकासलाई पनि उत्तिकै प्राथमिकतामा राखेको छु।’’
बृहत् किसिमका विकासका योजनाहरुको खाकासहित आफ्नो चुनावी प्रतिज्ञापत्र तयार पारिएको भन्दै उहाँले केही दिनमै आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताउनुभयो। त्यसैगरी श्रेष्ठले देशलाई निकास दिनका लागि समेत उम्मेदवारी रहेको बताउनुभयो। गुल्मेली जनताको सेवक बन्ने अवसर प्रदान गर्नका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुहुँदै उहाँले यो क्षेत्र विकासमा धेरै पछाडि परेको हुँदा यहाँका जनताको शिर झुक्न नदिने बताउनुभयो।
मुलुकको परिवर्तनका लागि नेतृत्व गर्ने पुस्तासँगै युगको परिवर्तन गर्न कांग्रेस लागेको भन्दै उहाँले कांग्रेसले मात्रै देशको नीतिलाई व्यवस्थित गर्न सक्ने धारणा राख्नुभयो। “देशमा स्वरोजगारका अवसर सिर्जना गर्ने नीति आवश्यक छ।’’ श्रेष्ठले भन्नुभयो, “देशमा सहि नीति निर्माण र नीतिलाई सहि सदुपयोग कांग्रेसले मात्र गर्न सक्छ।’’ सहि नेतृत्व र नीति आवश्यक रहेको भन्दै उहाँले अहिलेको अवस्थामा कांग्रेसको विकल्प नरहेको बताउनुभयो।
समुन्नत गुल्मी निर्माण गर्न अहिले गुल्मी– २ मा मत परिवर्तन गरी कांग्रेस पार्टीलाई विजयी बनाउन जरुरी रहेको उहाँले बताउनुभयो। यस क्षेत्रमा २२ जना उम्मेदवार चुनावी मैदानमा भएता पनि श्रेष्ठसँग एमालेका गोकर्णराज विष्ट, नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी प्रतिस्पर्धामा हुनुहुन्छ।