• ७ फागुन २०८२, बिहिबार

उम्मेदवार गुरुङको सङ्कल्प पत्र सार्वजनिक

blog

पाँच वर्षका लागि सङ्कल्प पत्र सार्वजनिक गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले 
स्याङ्जा, फागुन ७ गते ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका स्याङ्जा निर्वाचन क्षेत्र नं –१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मिनप्रसाद गुरुङले आगामी पाँच वर्षका लागि सङ्कल्प पत्र सार्वजनिक गर्नुभएको छ । समृद्ध स्याङ्जा र जनताको हित नारासहित उहाँले पूर्वाधार, सामाजिक विकास, उद्यमशिलता तथा स्थानीय आर्थिक विकास, कषि तथा पशुपंक्षी विकास गरेर चार भागमा ३३ वटा सङ्कल्प गर्नुभएको हो ।

सङ्कल्प पत्रमा आगामी पाँच वर्षमा निर्वाचन क्षेत्रभित्रका सबै स्थानीय तहका केन्द्रहरूलाई कालोपत्रे सडक सञ्जालले जोड्ने, वडा केन्द्रसम्म सडक विस्तार गर्ने तथा सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरेर स्याङ्जा–पाल्पा–रुपन्देही आर्थिक करिडोरका रूपमा विकास गर्ने योजना अघि सारिएको छ ।

यस्तै, ज्याग्दी र आँधीखोला करिडोरको स्तरोन्नति, नयाँ वैकल्पिक लोकमार्ग विकास, एक घर एक धारा कार्यक्रममार्फत खानेपानी सुविधा विस्तार तथा आवश्यक स्थानमा पक्की र झोलुङ्गे पुल निर्माण गर्ने, मालेबगर खेल मैदानलाई उच्चस्तरीय बनाउने र प्रत्येक पालिकामा कम्तीमा एक खेल मैदान निर्माण गर्ने सङकल्प गुरुङले गर्नुभएको छ ।

उहाँले निरपेक्ष गरिबी आधाले घटाउने, अति विपन्न परिवारलाई उद्यमशील कार्यक्रममा आबद्ध गर्ने, बेरोजगारी दर घटाउने तथा स्वास्थ्य बिमामा शतप्रतिशत सहभागिता सुनिश्चित गर्ने लक्ष्य राख्नु भएको छ ।

स्याङ्जा सदरमुकाममा प्रदेश अस्पताललाई ५० शय्याको पूर्ण क्षमतामा सञ्चालन गर्ने, सबै स्थानीय तहका अस्पतालका पूर्वाधार पूरा गर्ने र सामुदायिक विद्यालय सुधारका लागि सङ्घीय शिक्षा ऐन संशोधन पहल गर्ने गुरुङले प्रतिबद्धता गर्नुभएको छ ।

यस्तै विद्यालय तहदेखि उद्यमशीलता शिक्षा लागू गर्ने, दलित समुदायका परम्परागत सिप संरक्षण गर्दै आयआर्जनमा जोड्ने, विधवा तथा एकल महिलालाई लक्षित कार्यक्रम सञ्चालन गर्ने र युवालाई सिप विकास तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सङ्कल्प पत्रमा सारिएको छ ।

होमस्टेलाई स्तरोन्नति गर्दै अन्तर्राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, साहसिक पर्यटनका सम्भावना पहिचान गरी पूर्वाधार विस्तार गर्ने तथा निजी क्षेत्रसँग सहकार्यमा सुन्तला प्रशोधन र जडिबुटीजन्य उद्योग स्थापना गर्ने लक्ष्य गुरुङले राखिएको छ । 

यस्तै सुन्तला, कफी र मसलाबाली क्षेत्र विस्तार, गाईभैंसी जोन विकास, सहकारीमार्फत जग्गा चक्लाबन्दी र दुई सय आधुनिक मोडेल कृषि तथा पशुपन्छी फर्म स्थापना गर्ने प्रतिबद्धता सङ्कल्प पत्रमा गर्नु भएको छ ।

उहाँले सङकल्प पत्र पार्टीको घोषण पत्र नभएर आफ्नो पाँच बर्षको कार्यदिशा भएको बताउदै मतदातासँग सहयोग र समर्थनको अपिल गर्नु भएको छ ।