सचिन पोख्रेल
इटहरी, फागुन ७ गते । नेपाल सरकार र नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दलअन्तर्गत एनसीसी अल्मुनाई कोशी प्रदेशको सल्लाहकार समिति तथा कार्य समिति गठन गरिएको छ । अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो भन्ने आदर्श बोकेर युवा विद्यार्थीहरूमा चरित्र, आत्मविश्वास र नेतृत्वदायी क्षमताको विकास गर्ने उद्देश्यले स्थापना भई सञ्चालन हुँदै आएको एनसीसीको प्रदेश स्तरीय कार्य समिति र सल्लाहकार समिति गठन गरिएको हो ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीको नेतृत्वमा कोशी प्रदेशका विभिन्न सामाजिक अगुवाहरूको सहभागितामा सात सदस्य सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यहरूमा बलराम आचार्य, सन्तबहादुर डुम्जन, अनन्त बिष्ट, सुरेन्द्र तामाङ, सागर खड्का र सचिन पोख्रेल नियुक्त हुनुभएको छ ।
यसैगरी एनसीसी अल्मुनाई कोशी प्रदेशको निर्देशक पदमा पिंकी थापा नियुक्त हुनुभएको छ ।
त्यस्तै, कार्यसमितिको उपनिर्देशकमा अनुप कार्की र सदस्यहरूमा कन्चन घिमिरे, रमिला राई, देउमान भण्डारी, सैपाल राई, अनुराग सिहं भण्डारी, रोसव श्रेष्ठ, सुमिरन दुलाल, आयुसा खनाल, अनुसुया खतिवडा, रक्षिता चापागाई, आसिका चौधरी, युसन सिल्वाल, डिम्पल तामाङ्ग, जस्वीन मगर र बसन्ती राई नियुक्त हुनुभएको छ ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरमा आयोजित एक कार्यक्रममा पृतनापति उपरथी गौरवकुमार केसीले नवनियुक्त सल्लाहकार समितिका सदस्य र कार्यसमितिका पदाधिकारीहरुलाई नियुक्ति पत्र तथा परिचयपत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा पृतनापति उपरथी केसीले एनसीसीको माध्यमबाट नेपाली सेनाले युवा विद्यार्थीहरूलाई अनुशासित तथा समाज र राष्ट्रप्रति समर्पित बनाउन अनुकरणीय कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले एमसीसीबाट दीक्षित युवा विद्यार्थीहरूलाई भविष्यमा राष्ट्र र राष्ट्रियताप्रति थप जिम्मेवार बनाएको पनि बताउनुभयो । कार्य समितिकी नवनियुक्त निर्देशक पिंकी थापाले कोशी प्रदेशका विभिन्न जिल्लामा छरिएर रहेका एनसीसीबाट दीक्षित युवा विद्यार्थीहरुलाई भेला गराई उनीहरूको व्यक्तित्व र नेतृत्व विकास साथै राष्ट्रको सेवामा योगदान पुर्याउने सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।