अमृतप्रसाद पौडेल
म्याग्दी, फागुन ७ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा एक स्वतन्त्र उम्मेदवारसहित १२ जना उम्मेदवार चुनावी मैदानमा सक्रिय भएका छन्। सामाजिक सञ्जाल र ग्रामीण क्षेत्रको चर्चालाई आधार मान्दा मुख्य प्रतिस्पर्धा चार उम्मेदवारबीच हुने आँकलन गरिएको छ।
स्वतन्त्र उम्मेदवार महावीर पुन, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। विगतका निर्वाचन परिणामअनुसार कांग्रेस र एमालेबिच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिए पनि महावीर पुनको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
नेपाली कांग्रेस
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर भण्डारी रघुगंगा गाउँपालिका–२, भगवती (रुइसे)का बासिन्दा हुनुहुन्छ। वैदेशिक रोजगारीका सिलसिलामा जापान र हङकङ पुगेका भण्डारी स्वदेश फर्किएपछि प्रविधि अनुसन्धान र समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ।
कानुनमा स्नातक गरेका भण्डारी २०४३ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरी २०६८ सालदेखि नेपाली कांग्रेसमा सक्रिय हुनुहुन्छ। हाल उहाँ कांग्रेस म्याग्दीका उपसभापति हुनुहुन्छ। उहाँले भोटिङ मेसिन र घरायसी सुरक्षासम्बन्धी उपकरण निर्माणमा संलग्नता जनाउनुभएको छ। २०६६ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणको बोर्ड सदस्यसमेत बन्नुभएको थियो।
नेकपा (एमाले)
नेकपा (एमाले)बाट ६० वर्षीय हरिकृष्ण श्रेष्ठ उम्मेदवार हुनुहुन्छ। बेनी नगरपालिका–७ का श्रेष्ठ २०३६ सालमा अनेरास्ववियुमा आबद्ध हुनुभएको थिए। २०५४ सालमा तत्कालीन अर्थुङ्गे गाविसका अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पराजित हुनुभएको थियो।
उहाँ २०६६ देखि २०७८ सालसम्म एमाले म्याग्दीका अध्यक्ष रहनुभयो। हाल एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य तथा केन्द्रीय कमिटी सदस्यका रूपमा कार्यरत हुनुहुन्छ।
स्वतन्त्र उम्मेदवार
स्वतन्त्र उम्मेदवार महावीर पुन ७१ वर्षका हुनुहुन्छ। शिक्षण पेशामा १३ वर्ष बिताएका पुनले अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का कर्नीबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ। विज्ञान तथा प्रविधि क्षेत्रमा योगदान पु¥याएबापत उहाँले सन् २००७ मा रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो।
निर्वाचन घोषणा भएपछि मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका पुन सामाजिक सञ्जालमा व्यापक चर्चामा हुनुहुन्छ। आफू राजनीतिमा नआउने बताउँदै आएका पुन यसपटक भने विकास र नीतिगत सुधारको एजेन्डासहित मैदानमा उत्रिनुभएको छ।
नेपाली कम्युनिस्ट पार्टी
नेपाली कम्युनिस्ट पार्टीबाट ४२ वर्षीय अर्जुन थापा उम्मेदवार हुनुहुन्छ। धवलागिरी गाउँपालिका–७, धारापानीका थापा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुहुन्छ। राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापा सामाजिक अभियानमा पनि सक्रिय हुनुहुन्छ।
उहाँको नेतृत्वमा काठमाडौंमा स्वतन्त्र रक्तदाता समूहमार्फत १० हजारभन्दा बढी बिरामीलाई रगत उपलब्ध गराइएको दाबी गरिएको छ। उहाँले धवलागिरी गाउँपालिकाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण कार्यक्रमसमेत सञ्चालन गर्दै आउनुभएको छ।
अन्य उम्मेदवार
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डम्बरबहादुर सुवेदी, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा, नेशनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा, श्रम संस्कृति पार्टीबाट विनोद राना तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट क्षेत्रबहादुर घिमिरे पनि प्रतिस्पर्धामा हुनुहुन्छ। म्याग्दीमा यसपटक बहुदलीय र बहुपक्षीय प्रतिस्पर्धाले निर्वाचनलाई थप रोचक बनाएको छ।