गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ७ गते । क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित ‘इन्क्लेभ ओडी’ नामक औषधी गुणस्तरहीन रहेको पुष्टि भएको छ । औषधी व्यवस्था विभागले उक्त औषधी बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले क्युरेक्स फर्मास्युटिकल्सले उत्पादन गरेको टिइओडी ०२६ ब्याच नम्बरको इन्क्लेभ ओडी औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको रहेको पाइएको जानकारी दिनुभयो । उहाँले न्यून गुणस्तरको औषधी बजारमा बिक्रीवितरण गर्न नमिल्ने भएकाले तत्काल बजारबाट फिर्ता लैजान निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले विभागले समय समयमा बजार अनुगमनका क्रममा सङ्कलन गरिएका औषधीको नमुना राष्ट्रिय औषधी प्रयोगशालाबाट परीक्षण गर्ने गरेको जानकारी दिनुभयो ।
औषधी परीक्षणका क्रममा गुणस्तरहीन औषधी पुष्टि भएपछि औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट फिर्ता लगेर नष्ट गर्नुपर्ने हुन्छ ।