धीरेन्द्र साह/लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन ७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको अवस्था बदल्ने स्पष्ट सोच र दृढसङ्कल्पसाथ पार्टी निर्वाचनमा होमिएको बताउनुभएको छ । जनकपुरधाममा बुधबार आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले राजनीतिक संस्कार र विकासको शैली बदलेर देशलाई निकास दिने घोषणा गर्नुभएको हो ।
उहाँले कांग्रेसका उम्मेदवारलाई मतदातासँग मत नभई विश्वास माग्न आग्रह गर्नुभयो । उहाँले मधेश प्रदेशलाई अन्नको भण्डार र ज्ञान केन्द्रका रूपमा पुनस्र्थापित गर्ने सङ्कल्प गर्दै कांग्रेसले घोषणापत्रका प्रत्येक शब्दको अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वर्णिम पाँच वर्ष बनाउने सङ्कल्प लिएर मधेशबाट निर्वाचनमा उम्मेदवार भएको बताउनुभयो । उहाँले देश परिवर्तनका निम्ति गरेको बलिदान स्मरण गर्दै महेन्द्रनारायण निधि, सहिद दुर्गानन्द झासहितका सपुतको सपना पूरा गर्ने वचन दिनुभयो ।
सभापति थापाले मधेशमा गणित र विज्ञानको पढाइ सुधार्ने विशेष योजना, एक रुपियाँ तिर्नु नपर्ने स्वास्थ्य बिमा प्रणाली विकास गर्दै कतारमा पसिना बगाएर कमाएको पैसा आमाको उपचारमा सकिने दिन अन्त्य गर्ने बताउनुभयो । उहाँले अब ‘किसानको दशक’ बनाउने घोषणा गर्दै वैदेशिक रोजगारीमा रहेका युवाका लागि सरकारले दूतावासमार्फत विशेष हेरचाह गर्ने र उनीहरू फर्कंदा व्यवसायको मालिक बन्ने वातावरण निर्माण गर्ने योजना बनाएको बताउनुभयो ।
उहाँले ‘टिम नेपाल’ को अवधारणा अनुसार नेपालको कुशासन, गरिबी र बेरोजगारी हटाउने योजना सार्वजनिक गर्नुभयो । राजा जनकले सीताको विवाहका लागि लिएको प्रतिज्ञा र भगवान् रामले धनुष उठाएर गरेको विजय स्मरण गर्दै उहाँले कांग्रेसको आगामी यात्रा ‘प्रतिज्ञा’ मा आधारित हुने प्रस्ट पार्नुभयो ।
सक्षमको हातमा नेतृत्व : शर्मा
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा सक्षम व्यक्तिको हातमा नेतृत्व जानुपर्ने बताउनुभयो । उहाँले मतदातालाई कसले जित्छ भन्नेभन्दा कसले देश समाल्न सक्छ भन्ने आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नुभयो । उहाँले देशको नेतृत्व सक्षम र जिम्मेवार हातमा सुम्पनुपर्ने बताउनुभयो ।
कांग्रेस उपसभापति पुष्पा भुसालले देशले अहिले परिवर्तन र समृद्धिको स्पष्ट मार्गचित्र खोजिरहेको बताउनुभयो । युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु राज्यको प्रमुख दायित्व भएको बताउँदै उहाँले कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारमा सभापति थापालाई प्रस्ताव गरिएको र नयाँ रूपान्तरणको अभियानमा आरम्भ भएको बताउनुभयो ।
कांग्रेस मधेश प्रदेशका सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेशै कांग्रेसको माइती रहेको उल्लेख गर्दै दृढसङ्कल्पसाथ पार्टी अगाडि बढिरहेको बताउनुभयो । उहाँले कांग्रेसप्रति मधेशी जनताको विश्वास अझ सुदृढ बन्दै गएको दाबीसमेत गर्नुभयो । सभापति यादवले पार्टी नेतृत्वप्रति प्रतिबद्धता जनाउँदै मधेशको समग्र विकासका लागि कांग्रेस सधैँ अग्रसर रहेको बताउनुभयो । उहाँले विशेष गरी वर्तमान मधेश प्रदेश सरकारको नेतृत्वमा विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढिरहेको जानकारीसमेत गराउनुभयो ।
मधेशका मुख्यमन्त्रीसमेत रहनुभएका यादवले प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्न ‘रामायण सर्किट’ अगाडि बढाउने योजना रहेको जानकारीसमेत दिनुभयो । कार्यक्रममा मधेशका ३२ वटै निर्वाचन क्षेत्रका उम्मेदवार, केन्द्रीय सदस्य तथा प्रदेशका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
प्रतिज्ञापत्रबारे खुला प्रश्नोत्तर
कांग्रेसले प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । सभापति गगनकुमार थापाले बिहीबार काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ कार्यक्रममार्फत प्रतिज्ञापत्रका सवालमा उठेका प्रश्नको जवाफ दिनुहुने भएको हो ।