अमरराज नहर्की
तनहुँ, फागुन ६ गते । देवघाटधाममा सम्पन्न शतचण्डी महायज्ञ तथा देवघाट माघ महोत्सवमा दुई करोड ३४ लाख ५२ हजार ८३४ रुपियाँ दान सङ्कलन भएको छ ।
माघ १९ गतेदेखि फागुन ३ गते (महाशिवरात्री) सम्म सञ्चालित धार्मिक अनुष्ठानको आय–व्यय विवरण सार्वजनिक गरिएको हो । देवघाट गाउँपालिका –५ टाउनचोकस्थित दुर्गा पाञ्चायन मन्दिर (श्री रामराम मन्दिर) को जिर्णोद्वार तथा आश्रम निर्माणको उद्देश्यले आयोजना गरिएको उक्त महायज्ञ रामराम मन्दिर निर्माण समितिको संयोजनमा तथा मन्दिरका पीठाधीश कथावाचक शीतल कृष्ण महाराजको संकल्पमा सम्पन्न भएको छ ।
आयोजकले मङ्गलबार गरेको पत्रकार सम्मेलनअनुसार बोलकबोलबाट एक करोड ५६ लाख १७ हजार ३८६ रुपियाँ तथा यज्ञस्थलमा नगद ७८ लाख ३५ हजार ४४८ रुपियाँ संकलन भएको थियो ।
दानपेटिकामा प्राप्त रकमसमेत जोड्दा कुल आम्दानी दुई करोड ३४ लाख ५२ हजार ८३४ रुपियाँ पुगेको जनाइएको छ । महायज्ञ सञ्चालनमा विभिन्न शीर्षकमा ६८ लाख ३३ हजार ३६ रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । खर्चमध्ये सबैभन्दा बढी २२ लाख ७१ हजार ८८० रुपियाँ दान–दक्षिणामा व्यय भएको आयोजकले जनाएको छ । कुल खर्च कटाउदा एक करोड ६६ लाख १९ हजार ७९८ रुपियाँ बचत भएको छ ।
सङ्कल्पकर्ता आचार्य शीतल कृष्णले सबै श्रद्धालु, दातृव्यक्ति तथा सहयोगी संस्थाको सहकार्यले महायज्ञ सफल भएको बताउनुभयो । कार्यक्रम सम्पन्न भएको ४८ घण्टाभित्र आय–व्यय सार्वजनिक गरिएको उल्लेख गर्दै उहाँले धार्मिक पारदर्शितालाई प्राथमिकता दिएको स्पष्ट गर्नुभयो ।
महायज्ञ अवधिभर देश–विदेशबाट आएका करिब ३० हजार भक्तजनलाई निःशुल्क आवास र भोजनको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।