काठमाडौँ, फागुन ६ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताउनुभएको छ । बुधवार निर्वाचन तयारीका विषयमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गर्नुभएको हो ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचनाबाट सचेत रहन आग्रह गर्नुभयो । उहाँले आ–आफ्नो निर्वाचन क्षेत्रको तयारीमा लाग्दै निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन अधिकारीहरूलाई निर्देशनसमेत दिनुभयो ।
निरीक्षण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्य, जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराई र निर्वाचन अधिकृत चमिला भट्टराई लगायतको सहभागिता थियो ।
सो क्रममा गृहमन्त्री अर्यालको टोलीले गोकर्णेश्वर माध्यमिक विद्यालय र श्री ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजलमा रहेका मतदान केन्द्रको स्थलगत अनुगमन गरेको थियो । यस्तै, टोलीले शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने मानव निर्मित धाप ड्यामको समेत निरीक्षण गरेको थियो ।
गृहमन्त्री अर्यालले गोकर्णेश्वर नगरपालिका–४ मा रहेको निर्वाचन अधिकृतको कार्यालयको समेत निरीक्षण गर्नुभयो । सो क्रममा निर्वाचन अधिकृत भट्टराईले निर्वाचन क्षेत्रमा रहेका सबै मतदान केन्द्रको सुरक्षा अवस्थाबारे अनुगमन गरिसकिएको, मतदाता शिक्षा सञ्चालन भइरहेको र निर्वाचन सामग्री ढुवानीको तयारी भइरहेको जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारीले निर्वाचनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनसमेत सम्पन्न भइसकेको जानकारी गराउनुभयो ।