• ६ फागुन २०८२, बुधबार

निर्वाचनको प्रभाव : मतदाता घर फर्किंदा सबैतिर चहलपहल

blog

घोराही उपमहानगरपालिकाको जलौरामा चुनावबारे छलफल गर्दै स्थानीय बासिन्दाहरु

लुम्बिनी प्रदेश ब्युरो

लुम्बिनी, फागुन ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा यो प्रदेशभित्रका आर्थिक गतिविधि चलायमान हुन थालेका छन् । मतदान गर्ने मिति नजिकिएसँगै उम्मेदवारले औपचारिक रूपमा चुनाव प्रचारप्रसार सुरु गरेका छन् । चुनावी प्रचारप्रसारले चिया पसल, होटेल, यातायात, इन्धन, छापाखाना र स्थानीय उत्पादनसम्म सकारात्मक प्रभाव पारेको सरोकारवालाले बताएका छन् ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार चुनावको प्रभाव चिया चोकदेखि किसानको गोठसम्म पुगेको छ । उहाँले सहरका चोकमा पहिले एक/दुई कप चिया पिउने अहिले चार/पाँच कप चिया पिएर चुनावकेन्द्रित गफ र छलफल गर्ने गरेको उल्लेख गर्नुभयो । चिया बिक्री बढ्दा त्यसको असर दुग्ध उत्पादन र किसानको आम्दानीसम्म पुगेको उहाँको भनाइ छ ।

अध्यक्ष अर्यालका अनुसार चुनावकै कारण बजारमा मानिसको आवागमन बढेको, सवारीसाधनको प्रयोग तीव्र भएको र होटेल–रेस्टुरेन्टमा ग्राहकको भिड बढेको छ । रुपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकालले पनि चुनावी चहलपहलले सुस्ताएको आर्थिक गतिविधि उकास्न सहयोग पुगेको बताउनुभयो । उहाँले बजारको आर्थिक कारोबारमा १० प्रतिशतसम्म वृद्धि भएको दाबी गर्नुभयो । सैनामैना व्यापार सङ्घका अध्यक्ष सुरेन्द्र पौडेलले चुनावी गतिविधि बढ्दै सबै खालका व्यापार व्यवसाय चलायमान भएको जानकारी दिनुभयो । 

गुल्मीमा चुनावी सरगर्मी बढेसँगै आर्थिक क्रियाकलाप विस्तारै बढ्न थालेको छ । तम्घासस्थित सिर्जना होटेलका सञ्चालक पुनाराम कुँवरका अनुसार निर्वाचन प्रहरी भर्ना र उम्मेदवारी मनोनयनका समयमा सदरमुकाममा होटेल निकै भरिभराउ भएका थिए । जिल्लाबाहिर रहेका मतदाता घर फर्किन थालेपछि करिब एक सातादेखि यता होटेल व्यवसाय थप राम्रो हुँदै गएको छ ।

यातायात व्यवसायी चन्द्रबहादुर विष्टले चुनाव नजिकिँदै जाँदा सवारीसाधन भाडामा लिनेको सङ्ख्या बढेको बताउनुभयो । गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव चेतनारायण पाण्डेयले पनि मतदाता गाउँ फर्किएपछि आउँदा साताबाट झन् व्यापार बढ्ने आशा रहेको उल्लेख गर्नुभयो ।

नेपालगन्जमा चुनावी प्रचार सुरु भएसँगै आर्थिक गतिविधि उल्लेख्य रूपमा बढेको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीका अनुसार गाउँघरदेखि लिएर सहरबजारका चोक चोकका चिया नास्ता पसलमा भिड बढेको देखिन थालेको छ । उम्मेदवारले प्रचारप्रसार सामग्री बनाउने क्रम बढेसँगै व्यवसायीको कारोबार पनि बढेको छ ।

वडा वडा निर्वाचन परिचालन कार्यालय स्थापना भएपछि ती कार्यालय वरिपरिका पसलमा कारोबार बढेको छ । त्रिभुवन चोकनजिकै रहेको कारिगरको चिया पसलमा चिया बिक्री दोब्बर बढेको पसल सञ्चालक मोहम्मद सलिक कारिगरले बताउनुभयो । इन्धन खपत र सवारीसाधन भाडामा लिने माग पनि बढ्दो छ ।

घोराहीमा निर्वाचन गतिविधि बढ्दै जाँदा होटेल, रेस्टुरेन्ट र यातायात क्षेत्रमा सकारात्मक सङ्केत देखिएको छ । नास्ता पसल सञ्चालक रमेश केसीका अनुसार उम्मेदवारी दर्तापछि होटेलमा आउने ग्राहक सङ्ख्या बढेको छ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठका अनुसार हाल यकिन तथ्याङ्क नभए पनि प्रचार प्रसारका कार्यक्रम, गाडी प्रयोग र होटेलमा हुने भेटघाटले आगामी दिनमा कारोबार बढ्ने अपेक्षा गरिएको बताउनुभयो ।

रुकुमपूर्वका गाउँमा पनि चुनावी चहलपहलसँगै आर्थिक गतिविधि बढ्न थालेको छ । चिया पसल, होटेल र सार्वजनिक स्थानमा छलफल बढ्दा व्यवसाय चलायमान भएको भुमे गाउँपालिका–२ का भरत बुढाले बताउनुभयो ।   

(छवि पाण्डे–बुटवल, टोपलाल अर्याल–रेसुङ्गा, सिराज खान–नेपालगन्ज, लीलाधर वली–घोराही र जयमान बुढामगर–रुकुमपूर्वको सहयोगमा)