उर्लाबारी समाचारदाता
उर्लाबारी, फागुन ६ गते । आगामी २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच प्रतिस्पर्धा हुने भएको छ ।
मोरङ–२ मा नेपाली कांग्रेसले पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाललाई उम्मेदवार बनाएको छ । रिजाल यो क्षेत्रका लागि नयाँ अनुहार होइन । २०७४ सालको निर्वाचनमा एमाले र तत्कालीन माओवादी केन्द्रका साझा उम्मेदवार ऋषिकेश पोख्रेललाई हराएर मोरङमा कांगेसको बिउ जोगाउनुुभएका रिजाललाई २०७९ सालमा पार्टीले टिकट दिएन । यो चुनावमा कांग्रेस र माओवादी केन्द्रबिच गठबन्धन थियो । कांग्रेसबाट सुजाता कोइरालालाई उम्मेदवार बन्नुभयो ।
गठबन्धनकी उम्मेदवार भए पनि कोइरालाले एमालेका ऋषिकेश पोख्रेलसँग हार्नुभयो । अघिल्लो निर्वाचनमा रास्वपाले चार हजार ९७८ मत पाएको थियो ।
यस पटक राजनीतिक परिस्थिति बदलिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई आफ्ना सनातनी मत जोगाउन हम्मे हम्मे भएको छ । रास्वपाको स्थानीय निर्वाचनमा कुनै प्रभाव देखिएको थिएन तर पनि रास्वपाको आक्रामक प्रचार शैलीले एमालेलाई जित जोगाउन र कांग्रेसलाई अघिल्लो हार उल्टाउने चुनौती थपिएको छ ।
मोरङ–२ मा पाँच पालिकाका २९ वटा वडा पर्छन् । यहाँ रतुुवामाईका पूरै १० वडा, सुनवर्षीका पूरै नौ वडा, रङ्गेली–१, २, ३, ८ र ९ गरी पाँच वडा, पथरी शनिश्चरे–५, ६ गरी दुुई वडा र कानेपोखरी–१, २ र ३ गरी तीन वडाका एक लाख २९ हजार १८४ मतदाता रहेका छन् । २९ वडामध्ये स्थानीय निर्वाचनमा एमालेले १६ वडा, कांग्रेसले ११ वडा र माओवादी केन्द्रले दुई वटा वडामा चुनाव जितेका छन् । २९ वटा वडामा एमालेले ३१ हजार १६१ मत पाएको थियो भने कांग्रेसले २८ हजार ६८१ मत पाएको थियो । माओवादीले छ हजार ८०१ मत पाउँदा जसपाले तीन हजार १८८ र राप्रपाले एक हजार ८८४ मत पाएको थियो । स्थानीय निर्वाचनको मतपरिणाम आँकलन गर्दा फेरि कांग्रेस एमालेबिच प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसका निर्वाचन प्रसार समितिका सचिव आशिष कार्कीले भन्नुुभयो, “विस्तारै कार्यकर्ता खुल्न थाल्नुभएको छ । २०७९ को निर्वाचनमा पार्टीमा केही समस्या हुँदा हामी पछाडि पर्यौँ । यस पटक परिणाम हाम्रो पक्षमा बनाउने छौँ । अहिलेको उम्मेदवार निष्कलङ्क उम्मेदवार हुनुहुन्छ ।”
नेकपा (एमाले) का उम्मेदवार दिलीपकुमार अग्रवाल रङ्गेली जस्तै मोरङ–२ लाई पनि बनाउने नाराका साथ चुनावी मैदानमा हुनुहुन्छ । उहाँले रङ्गेली नगरपालिकाको प्रमुख हुँदा गरेको काम हेरेर पनि मतदाताले आफूलाई विश्वास गर्ने दाबी गर्दै आउनुभएको छ ।
त्यस्तै रास्वपाका उम्मेदवार कृष्णकुमार कार्की पनि यस पटक आफूहरूलाई मतदाताले विश्वास गर्ने दाबी गर्नुहुन्छ । पार्टीका मोरङ जिल्ला सङ्गठन विभाग सचिव सुनीलदत्त अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न रास्वपाप्रति मतदाताको आकर्षण बढेको दाबी गर्नुभएको छ । उहाँले रास्वपाको प्रमुख प्रतिस्पर्धा एमालेसँग रहेको बताउँदै फराकिलो जितका लागि मतदाताको घरदैलोमा पुग्ने काम भइरहेको बताउनुभयो । मोरङ–२ मा चार स्वतन्त्रसहित १७ उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुराना कम्युनिस्ट नेता चन्द्रवीर राईलाई उम्मेदवार बनाएको छ । राई नेकपा (माले) स्थापनाकालमा प्रभावशाली नेता मानिनुहुन्थ्यो । १५ वर्ष विद्यालयमा शिक्षक भएर राजनीतिमा आएका राईले तत्कालीन जिविस मोरङको सदस्य भएर पनि काम गर्नुभयो । उहाँको प्रचारप्रसार समितिका सदस्य प्रकाश पौडेलले भन्नुभयो, “उम्मेदवार, एजेन्डा र कार्यक्रमका हिसाबले पार्टी नयाँ छ । आममतदाताकाे भरोसा नेकपाले पूरा गर्ने छ ।”