• ६ फागुन २०८२, बुधबार

आचारसंहिता अनुगमन प्रभावकारी बनाइँदै

blog

बागलुङ समाचारदाता

बागलुङ, फागुन ६ गते ।  आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलको प्रचार अभियान सुरु भएपछि जिल्ला निर्वाचन कार्यालय र प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता अनुगमनलाई तीव्रता दिएको छ ।  

राजनीतिक दलका नेता, उम्मेदवार र अन्य सरोकारवालाबिच अन्तर्क्रिया गरेर स्वच्छ र पारदर्शी निर्वाचन सम्पन्न गर्न पनि पहल गरेको छ । 

मङ्गलबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले राजनीतिक दल, कर्मचारी र सञ्चार क्षेत्रसमेत आचारसंहितामा बाँधिनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ बनाउन पहल गर्ने पनि बताउनुभयो । कार्यक्रममा बागलुङ क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले आचारसंहिता सबैले पालना गर्नैपर्ने विषय भएको बताउनुभयो । उहाँले सबै जिम्मेवार बन्दा निर्वाचन स्वच्छ बन्ने र कोही पनि जिम्मेवार बन्न नसक्दा निर्वाचन स्वच्छ हुन नसक्नेतर्फ सबैले ध्यान दिन सुझाव दिनुभयो । उहाँले हालसम्म निर्वाचन आचारसंहिताका बारेमा कतिपय मौखिक उजुरी आएको र मौखिक रूपमै सचेत गराइएको बताउनुभयो । 

पछिल्लो समय फेसबुक पेज र विभिन्न सामाजिक साइटबाट आउने मत सर्वेक्षण र आचारसंहिता उल्लङ्घनलाई अनुगमन गर्न सेना र प्रहरीका साइबर विज्ञलाई खटाइएको र प्रमाण भेटिएको खण्डमा कारबाही गरिने पनि उहाँले बताउनुभयो । सञ्चार माध्यमले पनि सचेत बनेर समाचार प्रकाशन गर्न उहाँको आग्रह थियो । बागलुङका सञ्चार माध्यमले संयमित समाचार प्रकाशित गरेको भन्दै उहाँले उत्तेजित रूपमा आउने नक्कली समाचारप्रति सचेत रहन सबै सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो । जिल्ला तहमा आचारसंहिता उल्लङ्घनका विषयमा लिखित उजुरी भने नआएको आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले बताउनुभयो । 

कार्यक्रममा सबै राजनीतिक दल र सञ्चार माध्यम सचेत बन्दा निर्वाचन पनि स्वच्छ बन्नेमा सबै लाग्नेमा कार्यक्रम लक्षित थियो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले आचारसंहिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा पत्रकारहरूले आचारसंहिता उल्लङ्घनका विषयमा जानकारी गराउनुभएको थियो ।