सल्यान समाचारदाता
सल्यान, फागुन ६ गते । बाँके राष्ट्रिय निकुञ्जबाट बस्ती क्षेत्रमा छिरेको बाघको आतङ्क बढेपछि सल्यानको कालीमाटी गाउँपालिकाका बालबालिकालाई विद्यालय आवतजावतमा नेपाली सेनाले सुरक्षा दिन थालेको छ । गत पुस दोस्रो सातादेखि कालीमाटी गाउँपालिका–६ हात्तीढुङ्गा र वडा नं. ७ पर्सेनीका दुई जना तथा कालीमाटी–सुर्खेत सीमा क्षेत्रमा एक जना गरी तीन जनाको ज्यान बाघको आक्रमणबाट गएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । त्यसयता बाघ बस्तीनजिकै देखिन थालेपछि विद्यालय जाने बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै सेनाले सहजीकरण सुरु गरेको हो ।
नेपाली सेनाको टोलीले कालीमाटी गाउँपालिका–७ का स्वामीवास, हाउखोला, बाटुले र र्याङबाट नेपाल राष्ट्रिय मावि घुइँयाबारीमा अध्ययन गर्न जाने विद्यार्थीलाई बिहान विद्यालय जाँदा र बेलुकी फर्किंदा सुरक्षा दिँदै आएको जनाएको छ ।
बाघले तीन जनाको ज्यान लिएपछि बस्ती आसपास घुमिरहेकाले अभिभावकमा त्रास बढेको छ । करिब एक सयभन्दा बढी बालबालिका झन्डै एक महिनासम्म नियमित रूपमा विद्यालय जान नसकेको विद्यालयले जनाएको छ । वडा कार्यालयको आग्रहपछि सेनाले सुरक्षा दिन थालेसँगै अहिले विद्यार्थी नियमित रूपमा विद्यालय आउन थालेका छन् ।
कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले बिहान र बेलुकी सेनाले सुरक्षा दिन थालेपछि बालबालिकालाई ठुलो राहत मिलेको बताउनुभयो । विद्यालय पुग्न जङ्गल छेउको बाटो हुँदै करिब डेढ घण्टा लाग्ने भएकाले अभिभावक चिन्तित रहेको उहाँले जानकारी दिनुभयो ।
¥याङका रातो बस्नेतले सेनाको सुरक्षा सुरु भएपछि अभिभावकलाई बालबालिका छाड्न र लिन जानुपर्ने बाध्यता हटेको जनाउनुभयो । बाघको त्रासका कारण यसअघि आठ/दस जनाको समूह बनाएर मात्र हिँड्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । हात्ती दमार–घुइँयाबारी मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष डम्बर पुनले बर्दिया तथा बाँके निकुञ्ज क्षेत्रबाट आएका पाटेबाघका कारण स्थानीय त्रसित भएको बताउनुभयो । बाघको आक्रमणबाट तीन जनाको ज्यान गइसकेको र पशुचौपायामा समेत क्षति पुगेको जानकारी उहाँले दिनुभयो । दीर्घकालीन समाधानका लागि निकुञ्जले बाघको सङ्ख्या व्यवस्थापन गर्नुपर्ने तथा वन्यजन्तु बाहिरिनुका कारणबारे अध्ययन गरी कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने उहाँको भनाइ थियो ।
हाउखोलाका पोलेन्द्र घर्तीमगरले सेनाको उपस्थितिले बालबालिकालाई विद्यालय पठाउन सहज भएको बताउनुभयो । यद्यपि दीर्घकालीन समाधानका लागि सरकारले बस्ती स्थानान्तरण वा प्रभावकारी नियन्त्रणको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको उहाँले भन्नुभयो । विसं. २०६४ सालमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायत जङ्गली जनावरको त्रास बढ्दै गएको स्थानीयको भनाइ छ । कालीमाटी गाउँपालिका–७ का केही बस्तीबाट पछिल्लो एक दशकमा दर्जनौँ परिवार विस्थापित भइसकेका छन् । स्थानीयवासीले बाघ नियन्त्रणका लागि वन कार्यालयबाट आदेश जारी भए पनि प्रभावकारी कदम चाल्न नसकेको बताउँदै दीर्घकालीन सुरक्षा रणनीति अवलम्बन गर्न सरकारसँग माग गरेका छन् ।