राममणि दाहाल
मकवानपुर, फागुन ६ गते । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हाम्रा पर्वहरुले आपसी भाइचारा, सामाजिक सद्भाव, सहिष्णुता र एकता कायम राख्न मद्दत पुर्याउँदै आएको बताउनुभएको छ ।
प्रदेश प्रमुख देवकोटाले ग्याल्पो ल्होसार २०८२, को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै ग्याल्पो ल्होसारलगायतका पर्व नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग बनेको बताउनुभएको छ ।
उहाँले यस पर्वका अवसरमा बागमती प्रदेश देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ एवम् दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
विभिन्न जातजाति तथा भाषाभाषमध्ये आजबाट शेर्पा समुदायको नयाँ वर्ष सुरु भएको छ । शेर्पा समुदायले आज नयाँ वर्षको स्वागतसहित ग्याल्पो ल्होसार मनाउँदै छन् शुभकामना सन्देशमा भनिएको छ, नेपाल विभिन्न जातजाति तथा भाषाभाषियुक्त सम्प्रदाय भएको राष्ट्र हो ।
विशेषगरी शेर्पा समुदायले यो पर्व भव्य रुपमा मनाउने गर्दछन् । परम्परागत पोशाक लगाएर, सांस्कृतिक कार्यक्रम गरी, परिवार र आफन्त बिच शुभकामना आदानप्रद गरी नयांवर्षको स्वागत र पुरानो वर्षको दुःखकष्टलाई बिदाईको रुपमा मनाउने गरिन्छ । घर आँगन सफा गरेर चिटिक्क पार्दा नकारात्मक उर्जा हटाउने प्रतिकात्मक विश्वास रहेको छ ।
प्रदेश प्रमुख देवकोटाले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘‘यो पर्व केवल धार्मिक पर्व मात्र नभई सद्भाव, सह–अस्तित्व र बहुसांस्कृतिक पहिचानलाई मजबुत बनाउने पर्व पनि हो ।’’
साथै उहाँले ग्याल्पो ल्होसार पर्व २०८२ ले सबै नेपालीको जीवनमा नयाँ आशा, उत्साह र उमङ्ग छर्दै आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।